युवाका एजेण्डा बजेटमा समावेश गर्दै अछामको मेल्लेख गाउँपालिका
अछामः अछामको मेल्लेख गाउँपालिकाले युवाका एजेण्डा बजेटमा समावेश गर्ने भएको छ । “समृद्ध मेल्लेखको आधार, विकास र बजेट निर्माणमा युवा सरोकार” मूल नारासहित ‘अध्यक्षसँग युवा संवाद’ कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको हो ।
हाम्रो मेल्लेख राम्रो मेल्लेख भन्ने मूल संकल्पका साथ पालिकालाई सफा, स्वच्छ, स्वस्थ र समृद्ध बनाउने अभियान अन्तर्गत युवाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यो संवाद कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय तहको विकास प्रक्रिया, नीति तथा बजेट निर्माणमा युवाहरुको अर्थपूर्ण सहभागिता र भूमिकाका विषयमा सरोकारवालाबिच गहन छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले पालिकाको समग्र विकासका लागि युवाहरुको ऊर्जा र रचनात्मक सुझाव अपरिहार्य रहेको बताए। संवादको क्रममा स्थानीय युवाहरुले उठाएका जायज माग, आवश्यकता र योजनालाई आगामी बजेटमा प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता अध्यक्षले व्यक्त गरे।
उनले भने, युवाहरको रचनात्मक सुझाव र सहभागिताविना समृद्ध मेल्लेखको सपना अधुरो रहन्छ । आगामी नीति तथा बजेटमा युवाका भावनालाई सम्बोधन गरिने छ । कार्यक्रममा पालिकाले पछिल्लो समय भौतिक तथा सामाजिक विकासमा मारेको महत्वपूर्ण फड्को र गौरवका आयोजनाहरुका बारेमा समेत जानकारी गराइएको थियो ।
मेल्लेखले आफ्नै प्रशासनिक भवन निर्माण, पक्की सडक, निर्माणाधीन आधारभूत अस्पताल, र बृहत लिफ्टिङ खानेपानी योजना, सबै वडाहरुमा विजुली तथा इन्टरनेटको पहुँच विस्तार, ऐतिहासिक विमकोट दरबार, छोटी बडीमालिका (नन्दामाता मन्दिर), सुगर दह शहीद पार्क र सातमुल जस्ता गौरवमय सांस्कृतिक तथा प्राकृतिक धरोहरको संरक्षण र विकास गर्दै अघि बढिरहेको छ ।
पालिकाले एक घर दुई एभोकाडो अभियान तरकारी तथा फलफुल पकेट क्षेत्रको विकासजस्ता कार्यक्रममार्फत जनताको जिवनस्तर उकास्ने काम भइरहेको पालिकाले जनाएको छ । भौतिक विकाससँगै सामाजिक रुपान्तरणका लागि दलित, महिला र युवा क्लबहरुको परिचालन मार्फत समाजमा जरा गाडेर बसेका छाउपडी र बाल विवाहजस्ता कुप्रथा न्यूनीकरणका प्रयासलाई तीव्र पारिएको पालिकाले जनाएको छ ।