रास्वपाको प्रथम महाधिवेशनः यी हुन् सुदूरपश्चिमबाट केन्द्रीय सदस्यका आकांक्षी
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ। यसैक्रममा सुदूरपश्चिमको अछाम घर भएका भूपदेव शाह प्रधानमन्त्री बालेन समूहबाट महामन्त्री पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
महाधिवेशनमार्फत सुदूरपश्चिम भूगोलबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यसबाहेक खुला कोटाबाट पनि उम्मेदवारी दिन सकिने व्यवस्था रहेकाले प्रतिस्पर्धा झन् चर्किएको छ। केन्द्रीय सदस्य पदमा बहालवाला सांसददेखि जेन्जी आन्दोलनका अभियन्तासम्मले दाबी प्रस्तुत गरेका छन्।
केन्द्रीय सदस्यका लागि कैलाली–५ का सांसद आनन्द बहादुर चन्द, कैलाली–२ का केपी खनाल, कञ्चनपुर–३ का ज्ञानेन्द्र महता र डडेल्धुराका सांसद डाक्टर ताराप्रसाद जोशी अग्रपंक्तिमा देखिएका छन्। त्यस्तै, बाजुराका हेमराज थापा, अछामका खेमराज साउँद, डडेल्धुराका विजय जैरु, धनगढीका शैलेशकुमार सिंह, बैतडीका हरिमोहन भण्डारी र कैलालीकी करिश्मा कठरीया पनि उम्मेदवारीको दौडमा छन्।
कैलालीकी जानिका जोशी र कञ्चनपुरकी चन्द्रा ऐरले पनि केन्द्रीय सदस्य पदमा दाबी गरेकी छन्। यता, डडेल्धुराका दीपक बोहराले भूपदेव शाहलाई चुनौती दिँदै महामन्त्री पदमा दाबी गरेको बताइए पनि सहमहामन्त्री पदका लागि बार्गेनिङमा लागेको चर्चा छ। सहमहामन्त्रीमा सहमति नजुटेपछि बोहरा केन्द्रीय सदस्यकै उम्मेदवार बन्ने सम्भावना देखिएको छ।
महाधिवेशनसँगै रास्वपाभित्र नयाँ नेतृत्व चयनका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ।