सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीक्षान्त समारोहअघि सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध रिट, पदक वितरण विवाद अदालतसम्म पुग्यो

२०८३ असार ११, ०५:१९ नारायण अवस्थी

धनगढी:  सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह हुन दुई दिन बाँकी रहँदा पदक वितरणसम्बन्धी विवाद अदालतसम्म पुगेको छ। विश्वविद्यालयले आफूलाई अन्याय गरेको आरोप लगाउँदै एक छात्राले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट दायर गरेकी छन्।

स्नातकोत्तर तह उत्तीर्ण छात्रा रेखा भट्टले सुदूरपश्चिम विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायको डीन कार्यालय, स्कुल अफ इन्जिनियरिङ, परीक्षा नियन्त्रण कार्यालय तथा उपकुलपतिको कार्यालयलाई विपक्षी बनाउँदै रिट दर्ता गराएकी हुन्।

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका सूचना अधिकारी गणेशप्रसाद भट्टका अनुसार बुधबार दर्ता भएको रिटमाथि सोही दिन न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको छ। अदालतले विश्वविद्यालयले प्रकाशित गरेको पदकसम्बन्धी सूचना यथास्थितिमा राख्न आदेश दिँदै रिटकर्ता र विपक्षी पक्षलाई असार १२ गते छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ।

विश्वविद्यालयले असार १२ गते छैटौँ दीक्षान्त समारोह आयोजना गर्दैछ। समारोहअघि पदक छनोट प्रक्रियामा आफूलाई अन्याय गरिएको दाबी गर्दै छात्रा भट्ट अदालत पुगेकी हुन्।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असार १ गते चान्सलर, भाइस चान्सलर तथा स्वर्ण पदक प्राप्त गर्ने ११ जना विद्यार्थीको नामावली सार्वजनिक गरेको थियो। त्यसपछि असार १० गते संशोधित सूची प्रकाशित गर्दै थप चार विद्यार्थीलाई पदक प्राप्त गर्ने सूचीमा समावेश गरिएको थियो।

परीक्षा नियन्त्रण कार्यालय स्रोतले भने रिट दायर गर्ने छात्राले निर्धारित समयमा सोधप्रवन्ध अर्थात् थिसिस पेश नगरेकाले पदकका लागि योग्य ठहरिन नसकेको बताएका छन्। परीक्षा प्रकाशित भएको ९० दिनपछि मात्रै भट्टको शोधप्रवन्ध आएकाले प्रारम्भिक सूचीमा उनको नाम समावेश नगरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा दीक्षान्त समारोहका क्रममा पदक वितरणसम्बन्धी विवाद नयाँ भने होइन। विगतका दीक्षान्त समारोहहरूमा पनि यस्तै विषयमा विवाद सार्वजनिक हुँदै आएको थियो। यसपटक भने विवाद अदालतसम्म पुगेपछि विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रक्रियामाथि पुनः प्रश्न उठेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस