सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-६ को जाली सामुदायिक वनका अध्यक्ष चौधरी विरुद्ध संसदीय समितिमा उजुरी

२०८३ असार १२, ०१:१९ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी-६ मा रहेको जाली सामुदायिक वनका अध्यक्ष करन चौधरीलाई काठ तस्करी गरेको आरोप लगाइएको छ। सामुदायिक वन क्षेत्रबाट अध्यक्ष चौधरीले सालको रुख काटेर तस्करी गराउने गरेको भन्दै उनी विरुद्ध संसदीय समितिमा उजुरीसमेत परेको छ।

अध्यक्ष चौधरी विरुद्ध जालीकै स्थानीयले प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा गत असार ८ गते उजुरी दर्ता गराएका हुन्। उजुरीमा जाली सामुदायिक वनका अध्यक्ष चौधरीले सामुदायिक वनमा रहेका सुकेका सालका ठाडा रुखहरू उपभोक्ता समितिलाई जानकारी नदिई आफ्नो मनोमानी तवरले पदको दुरूपयोग गरी राति चोरी तस्करी गरी बेपत्ता बनाइ आर्थिक लाभ लिएको आरोप लगाइएको छ।

उजुरीमा वन उपभोक्ता समितिकै अध्यक्ष काठ चोरी तस्करीमा संलग्न भएकाले उक्त विषयमा निष्पक्ष छानबिन गरी तस्करिमा संलग्न देखिएका व्यक्तिहरूलाई कारबाहीको माग गरिएको छ।

संसदीय समितिमा उजुरी पर्नुभन्दा अगाडि असार २ गते राति ९ बजे जाली सामुदायिक वनबाट काठ तस्करी गरेको भन्दै स्थानीय हरि चौधरी र लाहनु चौधरीलाई वनको टोलीले काठसहित नियन्त्रणका लिएको थियो। उनीहरुको घर आँगनबाट ७३ क्युफिट सालको काठ बरामद भएको सव-डिभिजन वन कार्यालय तारानगरले जनाएको छ। वन अधिकृत किशोर धामीका अनुसार पक्राउ परेका दुबै जनाको बयान सिद्ध्याएर मुद्दा दर्ता गर्न शुक्रवार नै सरकारी वकिलको कार्यालयमा फाइल बुझाइएको छ।

यता जाली सामुदायिक वनका उपभोक्ताहरूले भने वन भित्रै धेरै वटा सालको रुख कटान गरिएको र उक्त कटानमा सामुदायिक वनका अध्यक्ष करन चौधरीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्। सःमिल सञ्चालकसमेत रहेका अध्यक्ष चौधरीले सर्वसाधारण गाउँलेहरूलाई काठ तस्करीमा प्रयोग गर्दै आएको दाबी गरिएको छ।

हाल थुनामा रहेका हरि चौधरी र लाहनु चौधरीले वनका अध्यक्ष चौधरीकै सःमिलका लागि काठ तस्करी गरेको दाबी स्थानीयको छ। उनीहरूले अध्यक्ष चौधरीले नै थुनमा रहेका दुबै जनालाई आफ्ना विरुद्ध बयान नदिन प्रभावित पारेको बताइएको छ।

तर, वनका अध्यक्ष चौधरीले भने काठ तस्करीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले काठ भेटिएको दिन आफू धनगढीमै नरहेको बताउँदै संसदीय समितिका आफू विरुद्ध उजुरी दिने काम भएको बताए।

'हाम्रो सामुदायिक वनमा ६ सय घरधुरी आवद्ध छन्। समितिले विवाहका लागि १० क्वीन्टर र अन्य पूजाआजाका लागि दुई क्वीन्टल दाउरा उपलब्ध गराउँदै आएको छ,' उनले भने, 'असार २ गते पनि घरका लागि दाउरा लिने भन्दै गएका व्यक्तिलाई पक्राउ गरिएको हो। म त्यो दिन धनगढीमै थिएन, पलिया गएको थिए।'

वनका अध्यक्ष  चौधरीले पक्राउ परेका हरि चौधरी र लहानु चौधरीलाई बयान गर्न कुनै पनि किसिमले प्रभावित गर्ने काम नगरेको बताएका छन्। उनले भने, 'मैले काठ तस्करी गरेको छैन गराउने कुरो पनि हुन्न। झुटो उजुरी दिने काम भएको छ।' 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस