सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी, टीकापुर र गोदावरीबाट लागूऔषधसहित ६ जना पक्राउ

२०८३ असार १३, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी, टीकापुर र गोदावरीबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट शुक्रबार बिहान १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय विष्णु खत्री रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट शुक्रबार साँझ ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ निवासी २७ वर्षीय अरुण चौधरी र २७ वर्षीय धनप्रसाद अधिकारी रहेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

यसैगरी गोदावरी नगरपालिका–८ स्याउलेबाट एक किशोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान गोदावरी–८ का १८ वर्षीय किशोरलाई १९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो। पक्राउ परेका ६ जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस