कञ्चनपुरका भोजराज र धनगढीकी सिर्जनाले गरे दाइजो र सुनबिनै विवाह
कञ्चनपुर: कञ्चनपुरका भोजराज भट्ट र सिर्जना भट्टले दाइजो तथा सुनका गरगहनाबिनै विवाह सम्पन्न गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालका भोजराज र धनगढीकी सिर्जना भट्टको असार १५ गते विवाह भएको हो।
धार्मिक परम्पराअनुसार महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा सम्पन्न विवाह समारोहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधि, उच्चपदस्थ व्यक्तित्व, समाजसेवी, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै दाइजोमुक्त विवाहको खुलेर प्रशंसा गरेका थिए।
प्रेम, सम्मान, समानता र सामाजिक उत्तरदायित्वलाई जीवनको आधार बनाउँदै भोजराज र सिर्जनाले कुनै पनि प्रकारको दाइजो तथा सुनका गरगहना स्वीकार नगरी वैवाहिक बन्धनमा बाँधिने निर्णय गरेको भोजराज भट्टका भाइ जेआर भट्टले बताए। विवाहलाई आर्थिक प्रदर्शन र भड्किलो प्रतिस्पर्धाभन्दा आपसी विश्वास, समझदारी र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने सन्देश दिनका लागि दाइजो र सुनबिना नै विवाह सम्पन्न भएको भट्टले बताए।
दुलाहा भोजराज भट्टको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका भए पनि हाल उनी भीमदत्त नगरपालिका–७, हल्दुखाल, कञ्चनपुरमा बसोबास गर्दै आएका छन्। उनी सामाजिक क्षेत्रमा क्रियाशिल छन्। त्यसैगरी दुलही सिर्जना भट्टको पुर्ख्यौली घर पनि बैतडी नै हो, उनी हाल धनगढीमा बसोबास गर्दै आएकी छन्।
समाजमा बढ्दो तडकभडक, दाइजो प्रथा र अनावश्यक खर्चको प्रवृत्तिबीच भोजराज र सिर्जनाले अपनाएको यो निर्णयलाई युवापुस्ताका लागि अनुकरणीय कदमका रूपमा हेरिएको छ। यसले दाइजोमुक्त समाज निर्माण, लैङ्गिक समानताको प्रवर्द्धन तथा सरल, सभ्य र जिम्मेवार विवाह संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।