शिक्षक बन्ने सपना त्यागेर बंगुर पालनमा सफल बने कैलालीका सिद्ध विक
धनगढी: विदेशी रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा बंगुर तथा कुखुरा पालन व्यवसाय सुरु गरेका कैलालीको जानकी गाउँपालिका–७, सन्तपुरका सिद्ध विक आज सफल युवा कृषकका रूपमा परिचित बनेका छन्। विद्यार्थी जीवनदेखि नै व्यवसाय गर्ने सपना बोकेका उनले निरन्तर मेहनत, धैर्य र लगनशीलताका कारण कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका हुन्।
शिक्षक बन्ने सपना देखेका विकले सुरुमा कुखुरा पालन व्यवसाय सुरु गरे। त्यसपछि बंगुर पालनतर्फ आकर्षित हुँदै व्यवसाय विस्तार गरे। हाल उनले 'सितल बंगुर एण्ड पोल्ट्री फर्म' सञ्चालन गर्दै २५० भन्दा बढी बंगुर पालन गरिरहेका छन्।
उनको फर्मबाट उत्पादित बंगुर कैलालीका विभिन्न स्थानीय तहका साथै अन्य प्रदेशमा समेत आपूर्ति हुँदै आएको छ। साथै उनले फुटकर रूपमा बंगुरको मासु पनि उपभोक्तासम्म पुर्याउँदै आएका छन्। व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उनी जिल्लाकै सफल तथा अनुभवी कृषकका रूपमा स्थापित भएका छन्।
‘‘विदेशमा श्रम बेच्नुभन्दा आफ्नै देशमा मेहनत गरेर व्यवसाय गर्दा अझ बढी आम्दानी र आत्मसन्तुष्टि प्राप्त हुन्छ। त्यसैले युवाले विदेशभन्दा स्वदेशमै सम्भावना खोज्नुपर्छ,’’ विकको भनाइ छ।
कृषि क्षेत्रमा सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको अपेक्षा छ। ‘‘कृषि उत्पादनको बजारीकरण र उचित मूल्य निर्धारणमा सरकारले प्रभावकारी भूमिका निर्वाह गरिदिए किसानको मनोबल अझ बढ्छ,’’ उनले बताएका छन्।
बंगुर तथा कुखुरा पालन व्यवसाय गर्न चाहने युवालाई आफूले सिकेको ज्ञान र अनुभव निःस्वार्थ रूपमा बाँड्न सधैं तयार रहेको उनको भनाइ छ। ‘‘मेहनत गर्न इच्छुक युवाले कृषि व्यवसायलाई रोजे स्वदेशमै राम्रो भविष्य बनाउन सकिन्छ,’’ उनी भन्छन्।
सिद्ध विकको सफलता आज स्वदेशमै अवसर खोज्ने युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ। उनको यात्राले मेहनत, दृढ इच्छाशक्ति र सही सोच भए आफ्नै गाउँघरमै सम्मानजनक आम्दानी गर्दै सफल भविष्य निर्माण गर्न सकिने सन्देश दिएको छ।