सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटनाः घाइतेको संख्या २४ पुग्यो, २२ जना धनगढी रेफर

तस्विरः पत्रकार कृष्ण विष्ट
तस्विरः पत्रकार कृष्ण विष्ट
२०८३ असार २०, ०८:३२ नारायण अवस्थी

धनगढीः बैतडीमा भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारका लागि धनगढी आएका छन्। शुक्रबार दिउँसो ७ जना घाइतेलाई धनगढी ल्याइएकोमा राति थप १५ जना उपचारका लागि धनगढी आएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार उनीहरु राति धनगढीतिर आएका छन्। घाइते मध्ये एक जना भने डडेल्धुरामा उपचारपछि डिस्चार्ज भएका छन्।

धनगढीबाट छुटेको सुदूरपश्चिम यातायातको सुपप्र०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गमा गुडिरहेका बेला पाटन नगरपालिका–८ को गैराखानमा दुर्घटना भएको थियो।

दुर्घटनामा चालक पाटन नगरपालिका–३ बस्ने २५ वर्षीय दिनेश भाटसहितका २४ जना घाइते भएका थिए। उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ। बस जेसिबी बोक्ने ट्रेलरलाई साइड दिने क्रममा सडकबाट खसेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनगढी रेफर गरिएका २२ जना घाइतेमध्ये १४ जनाको मायामेट्रोमा उपचार भइरहेको छ भने थप दुई जनालाई मायामेट्रोमै ल्याइदैछ। यस्तै, चार जना केयर टेकर अस्पताल, एक जना सिपी अस्पताल तथा थप एक जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ।

बैतडी प्रहरीका अनुसार एक जना डडेल्धुरा अस्पतालमा छन् भने बैतडकी दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेक घर भएका २१ वर्षीय सागर ठगुन्ना डिस्चार्ज भएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस