सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल ठक्कर दिएर फरार भारतीय चालक मध्यरातमै पक्राउ, एसपी र डिएसपी आफैँ खटिएका थिए

२०८३ असार २२, १०:४५ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित फरार भएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार राति करिब पौने १० बजे धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि गाडी चालक घटनास्थलबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार भारत उत्तर प्रदेशको वाराणसी स्थायी घर भएका ४२ वर्षीय अश्वनीकुमार सिंहलाई राति साढे १ बजे गोदावरी नगरपालिका–६ लालपुरबाट पक्राउ गरिएको हो। ठक्कर दिएपछि सिंह गाडीसहित लालपुरस्थित आफ्नै ससुराली घरमा पुगेर लुकेर बसेको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार घटनापछि चालकको खोजीका लागि कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द र प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना स्वयं खटिएका थिए। पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाडीको ठक्करबाट मोटरसाइकलको पछाडि सवार बैतडी जिल्लाको सिगास गाउँपालिका निवासी ४८ वर्षीय पदम चन्दको उपचारका क्रममा मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस