सुदूर नेपाललाई विश्वसँग जोड्दै

धुर्जन्नामा बढ्दो असुरक्षापछि अस्थायी प्रहरी चौकी स्थापनाको पहल, तनुज हत्या घटनापछि स्थानीय त्रसित

२०८३ असार २५, ०१:५८ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–१७ स्थित धुर्जन्नामा बढ्दो असुरक्षा र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न अस्थायी प्रहरी चौकी स्थापना गर्ने प्रक्रियाको माग गरिएको  छ। धनगढी बजार क्षेत्रबाट करिब १८–२० किलोमिटर पूर्वमा पर्ने धुर्जन्ना क्षेत्र तनुज चौधरी हत्या घटनापछि थप त्रासमा परेको भन्दै स्थानीयले प्रहरी उपस्थितिको अनुरोध  गरेका हुन्। 

गत असार १२ गते १० वर्षीय बालक तनुज चौधरीको कानमा लगाएको सुनको मुन्द्रा लुट्ने क्रममा हत्या भएपछि स्थानीयमा सुरक्षा चिन्ता झन् बढेको छ। त्यसयता धुर्जन्ना, गोदावरी नगरपालिका–९ र गौरीगंगा नगरपालिका–६ जोडिने क्षेत्रमा स्थायी सुरक्षा व्यवस्था आवश्यक रहेको आवाज उठ्दै आएको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा प्रहरी चौकी नहुँदा चोरी, लुटपाट, लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिको जोखिम बढ्दै गएको छ। कुनै घटना भए प्रहरी पुग्न ढिलो हुने भएकाले सर्वसाधारण असुरक्षित महसुस गर्दै आएका छन्।
स्थानीय पुष्पराज रानाले प्रहरी बिट स्थापना भए नागरिकमा सुरक्षाको अनुभूति बढ्ने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र आपराधिक गतिविधि न्यूनीकरण हुने बताए। उनका अनुसार तनुज हत्या घटनाले सिंगो बस्तीलाई त्रसित बनाएको छ।

वडा कार्यालयले स्थानीयको मागलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीलाई अस्थायी प्रहरी चौकी स्थापनाका लागि औपचारिक सिफारिस गरेको छ।

वडा नम्बर १७ का वडा अध्यक्ष माधव रानाले स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी बिट स्थापनाको प्रक्रिया अघि बढाइएको बताए। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि उपयुक्त स्थान छनोट गरी अस्थायी प्रहरी चौकी स्थापना गरिने उनले जानकारी दिए।

यता जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले पनि स्थानीयको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पूरा गरी अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा पहल भइरहेको जनाएको छ।
स्थानीयवासीले प्रहरीको नियमित उपस्थितिले अपराध नियन्त्रणका साथै नागरिकमा सुरक्षाको अनुभूति बढ्ने विश्वास व्यक्त गरेका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस