सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निजी विद्यालयले साउनदेखि ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ असुल्ने

२०८३ असार २८, ०२:४८ नारायण अवस्थी

धनगढीः धनगढीका निजी विद्यालयहरूले आगामी साउन महिनादेखि विद्यार्थीबाट लिइने विभिन्न शुल्कमा थप ३ प्रतिशत ‘शैक्षिक समता शुल्क’ असुल गर्ने भएका छन्।

प्याब्सन धनगढीका अध्यक्ष ध्रुवबहादुर सिंहका अनुसार सङ्घीय सरकारले बजेटमार्फत लागू गरेको व्यवस्थाअनुसार साउनदेखि उक्त शुल्क संकलन गर्ने निर्णय गरिएको हो। उनले आन्तरिक राजस्व कार्यालयले शनिबार धनगढीमा आयोजना गरेको करसम्बन्धी कार्यक्रममा सरकारी अधिकारीहरूले निजी विद्यालयलाई शैक्षिक समता शुल्क संकलन गर्ने प्रक्रियाबारे जानकारी गराएको बताए।

सरकारको व्यवस्थाअनुसार विद्यालयहरूले मासिक शुल्क, वार्षिक शुल्क, परीक्षा शुल्क, यातायात शुल्क, प्रयोगशाला शुल्कलगायत विद्यार्थीबाट लिइने सबै प्रकारका शुल्कमा थप ३ प्रतिशत रकम जोडेर संकलन गर्नेछन्। संकलित रकम प्रत्येक चार महिनामा सरकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारले यस शुल्कबाट उठेको रकम विपन्न तथा आर्थिक रूपमा कमजोर बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार र शैक्षिक पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क लगाउने व्यवस्था गरिएको हो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न अर्थिक ऐनमा समेत कानुनी प्रावधान समावेश गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस