सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निषेधित क्षेत्रमा नै पार्किङ, ट्राफिक व्यवस्थापन कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्दो

२०८३ असार ३०, ०५:१८ लक्ष्मण ढुङ्गाल

धनगढी: उपमहानगरपालिकाका विभिन्न स्थानमा ‘नो पार्किङ’ क्षेत्रमै सवारीसाधन पार्किङ गरिने क्रम बढ्दै गएको छ। विशेषगरी मालपोत कार्यालय आसपासको सडकको दायाँ–बायाँ दुवैतर्फ अव्यवस्थित रूपमा सवारी पार्किङ गरिँदा दैनिक आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ।

व्यस्त सडकमा सवारीसाधन पार्किङ गरिँदा सवारी आवतजावत साँघुरिएको छ। कार्यालय सेवाग्राही, पैदलयात्री तथा अन्य सवारी चालकले आवतजावतमा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन्। सडक किनारमा जथाभावी पार्किङ हुँदा ट्राफिक जाम हुने, आपतकालीन सवारी सञ्चालनमा समेत समस्या पर्ने अवस्था देखिएको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा ‘नो पार्किङ’ संकेत राखिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। ट्राफिक नियमको खुलेआम उल्लङ्घन भइरहे पनि सम्बन्धित निकायबाट नियमित अनुगमन र कारबाही नहुँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूको भनाइ छ।

अव्यवस्थित पार्किङका कारण साना–ठूला सवारी एकअर्कालाई ओभरटेक गर्ने क्रममा दुर्घटनाको जोखिम बढेको छ। पैदलयात्रीले समेत सडकमै हिँड्न बाध्य हुने अवस्था सिर्जना भएकाले समग्र सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ।सडक किनारका फुटफातमा मकै पोलेर बेच्ने व्यवसायले झन आवतजावत अवरुद्ध बनेको छ।

सवारी व्यवस्थापन प्रभावकारी नहुँदा ट्राफिक अनुशासन कमजोर बन्दै गएको सर्वसाधारणहरुको भनाइ छ। निषेधित क्षेत्रमा पार्किङ गर्ने सवारीमाथि कडाइका साथ कारबाही, नियमित अनुगमन, पार्किङ व्यवस्थापन तथा चालकमा ट्राफिक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस