सेती प्रादेशिक अस्पतालमा टिकटमा टोकन प्रणाली लागू, टिकट वितरण अब पालोअनुसार
धनगढी: सुदूरपश्चिम प्रदेशको रेफरल केन्द्र सेती प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई थप सहज बनाउन टिकट वितरणमा टोकन प्रणाली लागू गरेको छ। मंगलबारदेखि सञ्चालनमा आएको यो प्रणालीमार्फत अब सेवाग्राहीहरूले चारवटा टिकट काउन्टरबाट टोकन लिएर आफ्नो पालोअनुसार टिकट लिन र सम्बन्धित सेवामा जान सक्ने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दैनिक सयौँ बिरामी उपचारका लागि आउने सेती प्रादेशिक अस्पतालमा टिकट लिन बिहानैदेखि लामो लाइन लाग्ने, भीडभाड हुने तथा घण्टौँसम्म पालो कुर्नुपर्ने समस्या लामो समयदेखि रहँदै आएको थियो। अस्पतालमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै जाँदा सेवा व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा टोकन प्रणाली लागू गरिएको हो।
नयाँ प्रणाली लागू भएपछि सेवाग्राहीले लामो समय लाइनमा उभिनुपर्ने बाध्यता हटेको प्रतिक्रिया दिएका छन्। टोकन लिएपछि आफ्नो पालो आउने समयसम्म बस्ने स्थानमा आरामसँग प्रतीक्षा गर्न सकिने भएकाले सेवा लिन सहज भएको उनीहरूको भनाइ छ। विशेषगरी गर्मीयाममा घाममा उभिएर टिकट लिनुपर्ने सास्ती अन्त्य हुनुका साथै बिरामी, बालबालिका, अशक्त तथा वृद्धवृद्धाले भोग्दै आएको असहज अवस्था पनि कम भएको सेवाग्राहीहरूले बताएका छन्।
अस्पताल प्रशासनले गर्भवती महिला, ज्येष्ठ नागरिक तथा विशेष सहायताको आवश्यकता भएका सेवाग्राहीका लागि छुट्टै सहजीकरणको व्यवस्था गरेको जनाएको छ। उनीहरूलाई टिकट प्रक्रियामा अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले आवश्यक सहयोग उपलब्ध गराइने र सम्बन्धित विशेषज्ञ चिकित्सकसम्म सहज रूपमा पुग्ने वातावरण मिलाइएको अस्पतालको भनाइ छ।
अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार अस्पतालमा बढ्दो बिरामीको चापलाई व्यवस्थित गर्न पहिलो चरणमा टिकट काउन्टरमा टोकन प्रणाली लागू गरिएको हो। प्रणाली प्रभावकारी देखिएमा आगामी दिनमा ओपीडीका अन्य सेवा तथा विभिन्न विभागमा समेत विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। टोकन प्रणालीले भीड व्यवस्थापन, सेवाग्राहीको समय बचत, कर्मचारीको
कार्यसम्पादनमा सहजता तथा समग्र सेवा प्रवाहलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास अस्पताल प्रशासनले लिएको छ।
अस्पताल प्रशासनका अनुसार टोकन प्रणालीको प्रभावकारिताको नियमित अनुगमन गरिनेछ। सेवाग्राहीबाट प्राप्त सुझाव र अनुभवका आधारमा आवश्यक सुधार गर्दै अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने तयारी समेत गरिएको छ।
टोकन प्रणाली लागू भएपछि टिकट वितरण प्रक्रिया थप व्यवस्थित बन्न थालेको अस्पताल प्रशासनको दाबी छ। सेवाग्राहीले पनि यसलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा अस्पतालका अन्य सेवामा समेत यस्तै प्रविधिमैत्री व्यवस्था विस्तार गर्नुपर्ने अपेक्षा गरेका छन्।