निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा
काठमाडौंः सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ। सुरुमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। पोर्टलमार्फत अस्पतालले आफ्नो कुल शय्या सङ्ख्या र त्यसको १० प्रतिशत बराबरको निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्ने गरेका छन्।
विपन्न बिरामी वा उनीहरूका आफन्तले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगतसम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिनेछ। संविधानमा व्यवस्था गरिएको निःशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा सोमबार दिउँसोसम्म २८ हजार ७०४ शय्याको १० प्रतिशत बराबर तीन हजार ३८० निःशुल्क शय्या उपलब्ध छन्। तीमध्ये ५९३ शय्यामा विपन्न बिरामीले निःशुल्क उपचार पाइरहेका छन् भने अझै दुई हजार ७८७ शय्या खाली छ।
प्रवक्ता अधिकारीका अनुसार पोर्टल सञ्चालनपछि हालसम्म एक हजार ७६० भन्दा बढी व्यक्तिले निःशुल्क शय्या सुविधा पाएका छन्। देशका ठूला अस्पतालमध्ये सबैभन्दा बढी निःशुल्क शय्या बिपी कोइराला क्यान्सर अस्पतालमा उपलब्ध छ। त्यहाँ उपलब्ध २५१ निःशुल्क शय्यामध्ये सबै खाली छन्। निःशुल्क शय्याको सबैभन्दा बढी प्रयोग भने वीर अस्पतालमा भएको छ।
डा अधिकारीले निःशुल्क शय्याबारे आम नागरिकलाई जानकारी नभएकाले प्रयोगकर्ता संख्या कम देखिएको बताउँदै जानकारी विस्तारसँगै यसको प्रयोग बढ्ने बताए। मन्त्रालयले निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गरी ‘वेबसाइट’मा राखेको जनाएको छ। पोर्टललाई थप व्यवस्थित बनाउँदै लक्षित वर्गलाई निःशुल्क उपचार सेवा सहज बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।