सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारत सीमाबाट ५२५ प्याकेट "सुपर पावर" सुर्तीसहित ६ महिला पक्राउ, दुई फरार

२०८३ असार ३२, ०५:२९ नारायण अवस्थी

धनगढी: भारतको उत्तर प्रदेशस्थित गौरीफन्टा प्रहरीले नेपालतर्फ तस्करी गर्न लागिएको अवैध सुर्ती बरामद गर्दै ६ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य दुई महिला भने प्रहरीलाई छल्दै फरार भएका छन्।

गौरीफन्टा प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ बजे कवच आउटपोस्ट कजरियाबाट मोहना नदी घाट जाने कच्ची सडकमा नियमित चेकजाँचका क्रममा महिलाहरूको समूह शंकास्पद अवस्थामा फेला परेको थियो। प्रहरीले रोक्न खोज्दा दुई महिलाले बोरा छाडेर भाग्न सफल भए भने ६ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरीकटानकी धरमा विक (कल्पना), लक्ष्मी विष्ट (जमुना), मेनुका कुमारी सिंह र ईश्वरी ठकुल्ला (जयश्री), धनगढी–८ बंगरा कटानकी बसन्ती (झरना) तथा कञ्चनपुर जिल्लाकी विमला रहेको भारतीय प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट तथा फरार दुई महिलाले छाडेका बोराबाट गरी 'सुपर पावर' ब्रान्डका ५२५ प्याकेट सुर्ती बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सुर्तीको भारतीय बजार मूल्य ४७ हजार २५० रुपैयाँ रहेको उल्लेख गरिएको छ।

बरामद गरिएको सुर्ती ढुवानीका लागि आवश्यक कागजात माग्दा कुनै पनि महिलाले प्रस्तुत गर्न नसकेपछि प्रहरीले सम्पूर्ण सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रियाका लागि गौरीफन्टा भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा फरार दुई महिलाको खोजी जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस