आजदेखि तीन दिन देशभर भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि नेपालको तराई आसपास र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले उल्लेख्य वर्षा हुने अवस्था बनेको हो।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार लगातारको वर्षाले गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेछ। यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर बदली कायम रहने र अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुन सक्ने भएकाले विभागले उच्च सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ।