सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर केसीको अनशनका कारण स्वास्थ्य मन्त्री मेहताको सुदूरपश्चिम भ्रमण अनिश्चित

२०८३ साउन ८, ११:१७ नारायण अवस्थी

धनगढीः डाक्टर गोविन्द केसीको अनशनका कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको सुदूरपश्चिम अनिश्चित भएको छ। अनशनकै कारण स्वास्थ्य मन्त्री मेहताको शनिवार धनगढी आउने कार्यक्रम अनिश्चित भएको हो।

स्वास्थ्य मन्त्री मेहताले शनिवार बिहान ८ देखि १० बजेसम्म सहिद दशरथ चन्द विश्वविद्यालयको भ्रमण गर्ने कार्यतालिका थियो। गेटामा मन्त्री मेहताले अस्पताललाई तीन सय शय्यामा स्तरवृद्धि गर्न उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र राजिस्टार डाक्टर भीमबहादुर चन्दसँग छलफल गर्ने कार्यक्रम थियो। यस्तै विश्वविद्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यक्रमसमेत राखिएको मन्त्री निकट स्रोतले जानकारी दिएको छ।

गेटामा कार्यक्रम सकेर मन्त्री मेहताको सेती प्रादेशिक अस्पतालको भ्रमण गर्ने र त्यसपछि डडेल्धुरा अस्पतालको निरीक्षणमा जाने कार्यक्रम थियो। यस्तै, डडेल्धुरा अस्पतालबाट फर्केपछि कैलालीको जानकी गाउँपालिका पुगेर स्वास्थ्य स्वयं सेविकाहरूलाई सरकारले यो आर्थिक वर्षबाट बढाएको साउन महिनाको प्रोत्साहन भत्ता वितरण गर्ने कार्यक्रम थियो।

तर डाक्टर केसीको अनशनले गर्दा मन्त्री मेहताको सुदूरपश्चिम भ्रमण हुने या नहुने भन्ने टुङ्गो लागेको छैन। जसले गर्दा गेटामा अस्पताल सञ्चालन गर्ने र अस्पताललाई तीन सय शय्या क्षमतामा चलाउने विषय अनिश्चित बन्ने जोखिम बढेको छ।

सरकारले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने र यो शैक्षिक सत्रबाटै एमबिबिएसको पढाइ सुरू गर्ने तयारी थालेको छ। डाक्टर गोविन्द केसीले भने गेटामा नियुक्त भएका उपकुलपति र रजिस्टारकै नियुक्ति बदरको माग राख्दै धनगढी पुगेर अनशन सुरू गरेका छन्।

डाक्टर केसीले मेडिकल शिक्षाको पढाइ सुरू गर्न तीन सय शय्याको अस्पताल सञ्चालन भएको हुनपर्ने बताए पनि उनको अनशनले अस्पतालको स्तरवृद्धिको निर्णय नै प्रभावित हुने भन्दै सुदूरपश्चिमबासीले केसीको विरोध गरेका छन्। केसीले भने आफू स्वास्थ्य क्षेत्रको विज्ञ रहेको बताउँदै गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन भएको निश्चित समयपुगेपछि मात्रै पढाइ सुरू गर्नुपर्ने बताएका छन्।

केसीले विश्वविद्यालयका पदाधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै नियुक्ति बदरको माग राखेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस