रामरोशन गाउँपालिकामा निमित्त प्रमुखको आर्थिक–प्रशासनिक अधिकार रद्द
धनगढी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएको विषयमा कडा कदम चालेको छ। मन्त्रालयले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको हो।
मन्त्रालयका अनुसार असार १० गतेको निर्णयबाट शाखा अधिकृत तारादत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै मन्त्रालयले यसअघि निमित्त प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहेका जगतबहादुर रावलको आर्थिक तथा प्रशासनिक अधिकार खारेज गरेको जनाएको छ।
मन्त्रालयले गाउँपालिकालाई खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक तथा आर्थिक कामकाज सञ्चालन गर्न निर्देशन दिएको छ।
यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि अबदेखि गाउँपालिकाको बैंक खाता तथा आर्थिक कारोबार मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्र सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।