डोटीमा मदिराको नसामा लठ्ठ शिक्षकले गरे श्रीमतीको हत्या
धनगढी: डोटीमा मदिराको नसामा लठ्ठ शिक्षकले श्रीमतीको हत्या गरेका छन्।
जोरायल गाउँपालिका–४ देउथली बस्ने ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेर ४७ वर्षीया श्रीमती अमृता ओलीको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बुधबार दिउँसो पौने २ बजेतिर ओलीले श्रीमतीमाथि कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए।
कुटपिटबाट उनको पेटको वाँया भागमा चोट लागेर घाइते भएपछि उपचारका लागि स्वास्थ्य चौकी चन्कट्टे पठाएको थियो। तर अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको थियो। उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको डिएसपी चन्दले बताए। श्रीमतीको हत्या गरेको आरोपमा चन्द्रबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।