सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुप विश्वविद्यालयका ८३ विद्यार्थी इन्टर्नसीपबाट लाभान्वित, असार १५ सम्मको पारिश्रमिक खातामै भुक्तानी

२०८३ साउन १५, ०१:२० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच भएको द्विपक्षीय समझदारीअनुसार सञ्चालन गरिएको स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रम अन्तर्गत विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत ८३ जना विद्यार्थी लाभान्वित भएका छन्। कार्यक्रममार्फत विद्यार्थीहरूले प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रत्यक्ष रूपमा कार्यअनुभव हासिल गर्दै आफ्नो विषयगत ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाएका छन्।

आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यान्वयनका लागि २०८३ वैशाख १३ गते विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। त्यसपछि विभिन्न सङ्कायका विद्यार्थीहरूलाई स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रमअन्तर्गत सम्बन्धित सरकारी तथा गैरसरकारी निकायमा खटाइएको थियो।

इन्टर्नसीप अवधिमा सहभागी विद्यार्थीहरूले सम्बन्धित कार्यालय तथा संस्थाबाट व्यावहारिक कार्यअनुभव, कार्यसंस्कृति, सार्वजनिक सेवा प्रवाह, नेतृत्व विकास तथा पेशागत दक्षता अभिवृद्धि गर्ने अवसर प्राप्त गरेका छन्। विश्वविद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूको अध्ययनलाई व्यवहारसँग जोड्दै उनीहरूको रोजगारीयोग्य सिप र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूको सम्बन्धित निकायबाट प्रमाणित हाजिरी विवरण तथा प्रगति प्रतिवेदनका आधारमा असार १५ गतेसम्मको पारिश्रमिक सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट उपलब्ध बजेटअनुसार सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धित विद्यार्थीहरूको बैंक खातामा भुक्तानी गरेको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिए। यस अवधिमा सहभागी विद्यार्थीहरूले अधिकतम ३१ हजार २ रुपैयाँ र न्यूनतम ९ हजार १८ रुपैयाँ पारिश्रमिक प्राप्त गरेका उनले बताए।

सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा विद्यार्थीहरूले आफूले पढ्दै गरेको विषयमा थप सिप सिक्न सकून भनेर स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रमका लागि ४० लाख बजेट विनियोजन गरेको थियो। उक्त योजनाअनुसार विश्वविद्यालयसँग सम्झौता गरेर विद्यार्थीहरूलाई बढीमा ६ महिना उनीहरुले अध्ययन गरिरहेकै क्षेत्रमा स्वयंसेवा तथा इन्टर्नसीपका लागि पठाउने लक्ष्य राखिएको मन्त्रालयका सूचना अधिकारी लोकेन्द्रप्रसाद भट्टले बताए।

उनका अनुसार मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता हुन समय लागेकाले स्वयंसेवा तथा इन्टर्नसीप कार्यक्रम यो पटक ६ महिना पूरै गर्न नसकिएको बताए। 'यो कार्यक्रम विद्यार्थीले पढ्दै आफ्नो विषयमा थप कुरा सिक्न सकून भनेर ल्याइएको थियो। मन्त्रालयले ४० लाख बजेट विनियोजन गरेको थियो,' उनले भने, 'स्वयसेवक विद्यार्थीलाई खाजा खर्च भनेर दिइएको रकम हो। मासिक १० हजार पाउने गरी स्वयंसेवा तथा इन्टर्नसीपका पठाइएको हो। क्याम्पसहरूले विद्यार्थीको हाजिरी प्रमाणित गरेर पठाएको आधारमा उनीहरुकै खातामा रकम भुक्तानी गरिएको हो।'

पहिलो वर्षमै उठ्यो विवाद
सामाजिक विकास मन्त्रालयले यस्तो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने हिसावले सुरू गरेको भए पनि पहिलो वर्ष नै कार्यक्रम विवादित बनेको छ। विद्यार्थीहरूले आफूहरूले बढी दिन काम गरेको भए पनि मन्त्रालय र विश्वविद्यालयले कम दिनको रकम भुक्तानी गरेको गुनासो गरेका छन्।

तर मन्त्रालयले भने क्याम्पसहरुबाट असार १५ गतेसम्मको प्रमाणित हाजिरीका आधारमा रकम भुक्तानी गरिएको स्पष्ट पारेको छ। सूचना अधिकारी भट्टले मन्त्रालयले कार्यक्रम राम्रो नियतका साथ लागु गर्न खोजेको भए पनि विद्यार्थीहरूले विवाद झिकेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए। उनले कुरै नबुझी मन्त्रालय र विश्वविद्यालयलाई बदनाम गर्ने प्रयास भएकाले यो कार्यक्रमलाई निरन्तरता नदिने पक्षमा मन्त्रालय रहेको बताए। हरेक दिनको हिसाव गरेर विद्यार्थीहरूलाई रकम भुक्तानी गरिएको उनले बताए। भुक्तानी गर्न क्याम्पसबाट प्रमाणित हाजिरी मगाइएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकायका २२ जना, व्यवस्थापन संकायका १३ जना, मानविकी संकायका १२, कानून संकायका ११ जना विज्ञान तथा प्रविधि संकायका १० जना तथा इन्जिनियरिङ संकायका १५ जनालाई उनीहरूकै खातामा २१ लाख ८२ हजार १७६ रुपैयाँ भुक्तानी गरेको जनाइएको छ। अर्को वर्षदेखि कम्तिका ६ महिना स्वयंसेवा तथा इन्टर्नसीपको अवसर दिने पक्षमा मन्त्रालय र विश्वविद्यालय भए पनि यो पटक सहभागी विद्यार्थीहरूले नै कार्यक्रमको बदनाम गर्ने प्रयास गरेकाले कार्यक्रमकै भविष्य अन्यौलमा परेको मन्त्रालयले जनाएको छ।


विश्वविद्यालयले विद्यार्थीलाई कक्षाकोठामा सीमित नराखी व्यावहारिक ज्ञान, सिप र कार्यअनुभव प्रदान गर्ने उद्देश्यले सुरू गरिएको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। विश्वविद्यालयका सूचना अधिकारी बमका अनुसार प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम उच्च शिक्षालाई श्रम, सेवा र व्यावसायिक दक्षतासँग जोड्ने प्रभावकारी नमुनाका रूपमा स्थापित हुने विश्वास गरेको छ। आगामी वर्षहरूमा कार्यक्रमलाई थप विस्तार गर्दै अझ बढी विद्यार्थीलाई सहभागी गराउने तयारी विश्वविद्यालयले गरेको छ तर विद्यार्थीका कारण मन्त्रालय र विश्वविद्यालयकै बदनाम गर्ने काम भएको भन्दै मन्त्रालयले असन्तुष्टि प्रकट गरेको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस