सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

२०८३ साउन १६, ०१:०१ रासस

काठमाडौँः ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा सङ्लग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन्।

जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको नाममा आएकामा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क र एनसेल आजीयाटा लिमिटेडको मिलेमतोमा गैरकानुनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

ठगी, आपराधिक विश्वासधात तथा सङ्गठित अपराध मुद्दामा भण्डारीको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ। प्राधिकरणबाट २०७० वैशाख २ गते स्मार्ट टेलिकम प्रालिको नाममा प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नियमानुसार नवीकरण नगरेको कारणबाट २०८० वैशाख २ गते देखि स्वतः रद्द भएको थियो।


 

कमेन्ट लोड गर्नुस