सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरद्वारा ‘पेपरलेस धनगढी’ सेवा सुरु

२०८३ साउन १८, १०:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले सरकारी कामकाजलाई पूर्णतया प्रविधिमैत्री बनाउन ‘पेपरलेस धनगढी’ सेवाको सुरुवात गरेको छ।

सोमबार उपमहानगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सेवाग्राहीलाई आफूबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री, छिटोछरितो, पारदर्शी र झन्झटमुक्त सेवा दिने उद्देश्यले यो नयाँ प्रणाली सुरु गरेको जानकारी दिएको हो।उपमहानगरका सञ्चार तथा सुचना प्रविधि शाखा प्रमुख इन्जिनियर अनुप भट्टका अनुसार धनगढीमा पछिल्लो समय बाहिरी जनसंख्याको चाप बढ्दै गएको छ। यो डिजिटल प्रणालीले वास्तविक करदाता र नगरवासीको पहिचान गर्न सहज बनाउने उनले उल्लेख गरे।

यसबाट उपमहानगरले प्रदान गर्ने सेवा–सुविधाहरू आफ्ना नागरिकलाई प्राथमिकताका साथ उपलब्ध गराउन मद्दत पुग्ने शाखा प्रमुख भट्टले बताए। उपमहानगरले आफूबाट प्रवाह हुने सेवालाई सफल पार्न एकीकृत डिजिटल प्रणाली (यूडीजीपी) सञ्चालनमा ल्याएको जनाएको छ।

शाखा प्रमुख भट्टका अनुसार यो एउटै प्रणालीभित्र अन्य विभिन्न सफ्टवेयरहरूलाई जोडेर सेवा प्रवाह गरिनेछ। शाखा प्रमुख भट्टले भने, ‘धेरै पालिकाहरूले आ–आफ्नो सहजताका लागि छुट्टाछुट्टै डिजिटल प्लेटफर्म बनाउँदा सूचना एकीकृत हुन सकेको छैन। तर धनगढी उपमहानगरले विकास गर्न लागेको एउटै मूल प्लेटफर्म यूडीजीपीले सबै विवरण समेट्नेछ। यसबाट नागरिकले एक पटक अपलोड गरेको कागजात प्रणालीले आफैँ ट्र्याक गर्नेछ। जसका कारण सेवाग्राहीले एउटै फाइल बोकेर बारम्बार कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।’

यस योजनाको पहिलो चरणअन्तर्गत उपमहानगरका १९ वटै वडाका सचिवलाई तालिम दिइएको छ। यस चरणमा नागरिक ई–केवाईसी, विभिन्न सिफारिसहरू र फाइल ट्र्याकिङ अर्थात् कागजात कहाँ पुग्यो भनी हेर्न मिल्ने प्रणाली बारे सचिवहरुको नेतृत्व विकास गरिनेछ। अनलाइन प्रणाली चलाउन असमर्थ वा प्रविधिमा साक्षर नभएका सेवाग्राहीका लागि उपमहानगरले कार्यालयमै ‘हेल्पडेस्क’ (सहायता कक्ष) पनि स्थापना गरिएको छ। त्यहाँ रहेका कर्मचारीहरूले सेवाग्राहीको विवरण डिजिटल माध्यमबाटै दर्ता गरिदिने र सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको शाखा प्रमुख भट्टले जानकारी दिए।

शाखा प्रमुख भट्टका अनुसार यो प्रणालीको सुरुवातसगै अब नगरवासीले जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणजस्ता कार्य घरमै बसेर गर्न सक्नेछन्। यदि कुनै कागजात अपुग भएमा वा केही समस्या आएमा कार्यालयले सम्बन्धित व्यक्तिको मोबाइलमा मेसेज पठाउनेछ।

सेवाग्राहीले आफ्नो कागजात मोबाइलमै प्राप्त गरी प्रिन्ट गर्न सक्नेछन् भने आधिकारिकताका लागि त्यसमा क्यूआर कोड राखिनेछ, जसलाई अन्य कार्यालयले पनि स्क्यान गरेर प्रमाणीकरण गर्न सक्नेछन्। त्यसैगरी, यूडीजीपी ई–सिग्नेचर मोड्युल, डिजिटल अभिलेख व्यवस्थापन प्रणाली, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली, कार्यालय टिप्पणी लेखन तथा व्यवस्थापन प्रणाली, डिजिटल भुक्तानी तथा राजस्व संकलन प्रणाली, विकास निर्माण अनुगमन तथा सूचना प्रणाली, सार्वजनिक सूचना प्रणाली, कार्यालय विवरण प्रणाली, विपद् प्रणाली, डेटा दृश्यावलोकन प्रणाली, डेटा सुरक्षा प्रणाली लगायत सेवा रहेका छन्।

कमेन्ट लोड गर्नुस