सुर्खेतमा महिला कर्मचारी मृत्यु प्रकरण: नायब सुब्बा अनुसन्धानका लागि पक्राउ
सुर्खेत: महिला कर्मचारीको मृत्यु भएको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार विसीलाई शनिबार नियन्त्रणमा लिइएको हो। उनलाई आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाकै आवासगृहको बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन्। उद्धार गरी उनका श्रीमान् महेश बस्नेतले प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा चन्द्राका श्रीमान्को उजुरीपछि विसीलाई वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा विसी र चन्द्राबीच शंकास्पद सन्देश आदानप्रदान (च्याट) भएको देखिएको प्रहरीले जनाएको छ। विसीले चन्द्रालाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
जाजरकोटको कुशे गाउँपालिका–९ पैँक माइतीघर भएकी चन्द्राको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी एकीकृत कृषि प्रयोगशालामा सहायकस्तर चौथो तहमा कार्यरत थिइन्। उनका एक छोरी छन्।
प्रहरी नायब उपरीक्षक बोहोराले घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका छन्।