सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन अधिकृतविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा

२०८३ साउन १९, ११:४१ खबर संवाददाता

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले काष्ठ उद्योगका लागि ल्याइएका काठ बोकेका ट्रकको सिल खोलेको मुचुल्का गरिदिएबापत सेवाग्राहीलाई विभिन्न बहानामा दुःख हैरानी दिँदै घुस मागेका थिए।

सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनले आफ्नो ओहोदासम्बन्धी काम गर्ने क्रममा सेवाग्राहीसँग बार्गेनिङ गरी १२ हजार रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको आयोगले जनाएको छ।

यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिम कसुर भएको ठहर गर्दै अख्तियारले १२ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

आयोगले यादवविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस