प्रधानमन्त्री शाहको भावुक स्टाटस: ‘ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्’
काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार अबेर राति सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।
सत्ता पक्षकै सांसद्हरूबाट समेत आलोचना र प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शाह राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा सक्रिय भएका हुन्।
प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने संकेत गर्दै ‘ढिला होला तर गलत हुँदैन’ भनेर आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले पछिल्लो परिस्थितिलाई लिएर सर्वसाधारणलाई धैर्य गर्नसमेत आग्रह गरेका छन्।
भावुक शैलीमा प्रस्तुत भएका शाहले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने बताएका छन्।
उनले जीवनमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गर्दै आफू यसअघि पनि यस्ता परिस्थितिको सामना गरिसकेको संकेत गरेका छन्।
शाहले लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुनसक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्ने हुन्छ, तर यो पहिलोपटक होइन।’
उनको पछिल्लो स्टाटसलाई वर्तमान राजनीतिक परिस्थितिबीच आएको अर्थपूर्ण अभिव्यक्तिका रूपमा हेरिएको छ।