यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने
जनकपुरधामः सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो।
प्रदेश सरकारारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ।
सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा यही साउन १४ गते भएको प्रदर्शनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो। मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकोले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताए।