जोरायलमा प्रहरीद्वारा ७ हजार गाँजाका बोट फडानी, लागूऔषधविरुद्ध जनचेना
डोटी: जोरायल गाउँपालिका–३, सुनिखोलाको भाडे क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका करिब ६ हजारदेखि ७ हजार गाँजाका बोट फडानी गरिएको छ।
गाँजाको अवैध उत्पादन तथा प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले स्थानीय जनप्रतिनिधि, प्रहरी, विभिन्न सामाजिक संघसंस्था तथा स्थानीयवासीको सहभागितामा गाँजा फडानी गरिएको हो।
जोरायल गाउँपालिका वडा नम्बर ३, इलाका प्रहरी कार्यालय बिपिनगर र इलाका प्रहरी कार्यालय जोरायलको संयुक्त पहलमा उक्त क्षेत्रमा गाँजा फडानी अभियान सञ्चालन गरिएको हो। अभियानमा स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी, आमा समूह, सम विकास केन्द्र नेपाल तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
सुनिखोला, भाडे क्षेत्रमा लामो समयदेखि प्राकृतिक रूपमा गाँजाका बोट उम्रिने गरेको पाइएपछि स्थानीय तह र सुरक्षा निकायको समन्वयमा फडानी अभियान सञ्चालन गरिएको जनाइएको छ। अभियानका क्रममा ठूलो क्षेत्रमा फैलिएका गाँजाका बोटहरू उखेलेर नष्ट गरिएको थियो।
गाँजा फडानीसँगै सहभागीहरूले गाँजालगायतका लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे समेत छलफल गरेका थिए। लागूऔषधको प्रयोग बढ्दै जाँदा युवावर्गमा यसको प्रभाव पर्न सक्ने भएकाले सुरुवाती चरणमै यसको नियन्त्रण र रोकथामका लागि समुदायस्तरबाटै सक्रियता आवश्यक रहेकोमा जोड दिइएको थियो।
फडानी अभियानपछि लागूऔषध दुर्व्यसन, बालविवाह, आत्महत्या तथा साइबर अपराधलगायतका विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीलाई लागूऔषधको प्रयोगबाट हुने सामाजिक, मानसिक तथा पारिवारिक असर, बालविवाहले निम्त्याउने समस्या, आत्महत्याका जोखिम तथा साइबर अपराधबाट जोगिने उपायबारे जानकारी गराइएको थियो।
विशेषगरी पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना बढ्न सक्ने भएकाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अपरिचित व्यक्तिसँग अनलाइन सम्पर्क गर्दा अपनाउनुपर्ने सावधानी तथा व्यक्तिगत विवरण सुरक्षित राख्नुपर्ने विषयमा समेत सहभागीलाई सचेत गराइएको थियो।
त्यस्तै, बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा पार्ने असरबारे समुदायलाई सचेत गराउँदै बालविवाह रोकथाममा अभिभावक, स्थानीय जनप्रतिनिधि, प्रहरी तथा समुदायको संयुक्त भूमिका आवश्यक रहेको बताइएको थियो।
कार्यक्रममा आत्महत्या रोकथामका लागि समस्या तथा तनावमा रहेका व्यक्तिसँग संवेदनशील व्यवहार गर्ने, उनीहरूको कुरा सुन्ने र आवश्यक परे परिवार तथा सम्बन्धित निकायको सहयोग लिनुपर्ने विषयमा समेत छलफल गरिएको थियो।
गाँजा फडानीजस्ता अभियानलाई केवल बोट नष्ट गर्ने कार्यका रूपमा मात्र नभई समुदायमा लागूऔषधविरुद्धको चेतना विस्तार गर्ने अभियानका रूपमा अघि बढाउनुपर्नेमा सहभागीले जोड दिएका छन्। स्थानीयस्तरमा यस्ता गतिविधि नियमित रूपमा सञ्चालन गर्न सके प्राकृतिक रूपमा उम्रिने गाँजाको नियन्त्रणसँगै यसको प्रयोग र कारोबारसमेत रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय जनप्रतिनिधि, प्रहरी, सामाजिक संघसंस्था र समुदायबीचको सहकार्यले लागूऔषध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।
गाँजा फडानी तथा जनचेतनामूलक कार्यक्रमले स्थानीयस्तरमा लागूऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउनुका साथै बालविवाह, आत्महत्या र साइबर अपराधजस्ता सामाजिक समस्याका विषयमा समेत समुदायलाई सचेत गराउने प्रयास गरिएको आयोजकको भनाइ छ।