सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्राफिक कारबाहीबाट साउन महिनामै ११ लाख भन्दा बढी राजस्व संकलन

२०८३ साउन २८, ०४:२० खबर संवाददाता

कैलालीः ट्राफिक प्रहरी कार्यालय कैलालीले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा सवारी साधन कारबाहीबाट ११ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३ सय ८७ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख (प्रहरी निरीक्षक) रेशमप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा कैलालीमा १८ हजार १० वटा सवारी साधनलाई कारबाही गर्दा १ करोड ४७ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यस्तै, गत आर्थिक वर्षमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ४ सय ५४ जना चालकलाई कारबाही गर्दा १३ लाख ३९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको साउन महिनामा भने मापसे गरी सवारी चलाउने ३ सय ६५ जना चालकलाई कारबाही गरी करिब २ लाख रुपैयाँ राजस्व संकलन गरिएको आचार्यले बताए।

कैलालीमा सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा जिल्लामा ६ सय १ वटा सवारी दुर्घटना हुँदा ८२ जनाको मृत्यु भएको थियो भने ५ सय ८४ जना गम्भीर घाइते भएका थिए। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै १ सय १८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र ४७ जना गम्भीर घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई समेत निरन्तरता दिएको छ। गत आर्थिक वर्षमा ७ सय २९ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ४१ हजार २ सय ६० जना लाभान्वित भएका थिए। त्यस्तै, लेन र मापसेसम्बन्धी कक्षा ४८ पटक सञ्चालन गरिएकोमा १ हजार ४५ जना सहभागी भएका थिए।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ६८ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३ हजार ४०७ जनालाई सहभागी गराइएको आचार्यले बताए। सो अवधिमा ६ पटक लेन तथा मापसेसम्बन्धी कक्षा सञ्चालन गर्दा ३८८ जना सहभागी भएका छन्।

ट्राफिक प्रहरीले क्षमता भन्दा बढी सामान बोकेका ७५ वटा ट्रकलाई कारबाही गरी २ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, रातो नम्बर प्लेट भएका २० वटा सवारी साधनलाई कारबाही गर्दा १ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

मापसे तथा लागू पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा १६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको पनि प्रहरी निरीक्षक आचार्यले जानकारी दिए।

त्यसैगरी, मोटरसाइकलमा मोडिफाइ गरी प्रयोग गरिएका साइलेन्सरका कारण ध्वनि प्रदूषण बढेको भन्दै १७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय धनगढीमा पठाइएको उनले बताए।

प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन नियन्त्रणसँगै सडक दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँच, कारबाही तथा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउदै लगिएकाे छ।

कमेन्ट लोड गर्नुस