सुदूर नेपाललाई विश्वसँग जोड्दै

खगराज भट्ट: चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म

२०८३ साउन २९, १२:३० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट सुदूरपश्चिमको राजनीतिमा लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गरेका अनुभवी कम्युनिस्ट नेता हुन्। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका उनले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुगेका हुन्।

प्रारम्भिक जीवन र राजनीतिक प्रवेश
खगराज भट्टको जन्म वि.सं. २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका–४, चौडीमा पिता स्व. रामदत्त भट्ट र माता गोमतीदेवी भट्टका साहिला पुत्रका रूपमा भएको हो। उनले आईएल तहसम्मको शिक्षा हासिल गरेका छन्। उनको स्थायी घर अजयमेरु गाउँपालिका–४, चौडी, डडेल्धुरा हो।

भट्टले किशोरावस्थामै तत्कालीन राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनसँग आफूलाई जोडे। वि.सं. २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यता प्राप्त गर्दै उनी औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरे। वि.सं. २०५० असोजदेखि पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा सक्रिय भएका उनी सोही वर्ष कात्तिकमा डडेल्धुरा जिल्ला कमिटीको सदस्य बने।

विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म
राजनीतिक जीवनको प्रारम्भिक चरणमै भट्ट विद्यार्थी आन्दोलनमा सक्रिय भए। अखिल क्रान्तिकारीको संगठन विस्तार र सुदूरपश्चिममा विद्यार्थी राजनीतिको विकासमा उनले भूमिका निर्वाह गरे। विद्यार्थी संगठनको जिम्मेवारीसँगै पार्टी संगठनमा समेत सक्रिय रहँदै उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा संगठन निर्माण, राजनीतिक परिचालन र कार्यकर्ता व्यवस्थापनको अनुभव हासिल गरे।

यस क्रममा डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा संगठनात्मक गतिविधि विस्तार गर्दै उहाँ क्रमशः जिल्ला तहबाट क्षेत्रीय र केन्द्रीय राजनीतिक जिम्मेवारीतर्फ अघि बढे।

भूमिगत जीवन र जेल
वि.सं. २०५२ सालमा माओवादी आन्दोलनमाथि राज्यको दमन तीव्र हुँदै गएपछि भट्ट पनि पक्राउ परे। २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट पक्राउ परेका उनी राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दामा २०५३ पुस ८ गतेसम्म जेलमा रहे।

जेलबाट मुक्त भएपछि उनी पुनः राजनीतिक गतिविधिमा सक्रिय भए। त्यसपछिको समय उनका लागि संगठन निर्माण, राजनीतिक सम्पर्क विस्तार र सुदूरपश्चिममा पार्टीको आधार बलियो बनाउने महत्वपूर्ण चरण बन्यो।

जनयुद्धकालीन राजनीतिक जिम्मेवारी
माओवादी जनयुद्धको अवधिमा भट्टले सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी संगठन निर्माण र विस्तारको जिम्मेवारी सम्हाले। कठिन राजनीतिक परिस्थितिमा संगठन विस्तार र कार्यकर्ता परिचालन गर्दै उनी क्षेत्रीय नेतृत्वमा स्थापित भए।

वि.सं. २०६० सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिमा प्रवेश गरेपछि उनले पार्टीको केन्द्रीय तथा क्षेत्रीय जिम्मेवारीमा रहेर राजनीतिक तथा संगठनात्मक कामलाई निरन्तरता दिए। सुदूरपश्चिममा पार्टी संगठनको विस्तार र राजनीतिक आधार निर्माणमा उनको यो चरण विशेष रूपमा महत्वपूर्ण रह्यो।

परिवारको राजनीतिक योगदान
भट्टको राजनीतिक यात्रा व्यक्तिगत संघर्षमा मात्र सीमित थिएन। उनको परिवार नै राजनीतिक परिवर्तन र क्रान्तिकारी आन्दोलनप्रति समर्पित परिवारका रूपमा चिनिँदै आएको छ। उनका दाजु जयराज भट्ट पनि राजनीतिक आन्दोलनमा सक्रिय थिए। जनयुद्धकालमै उनको शहादत भयो। भाइ उमेश भट्ट पनि भूमिगत बने। उनकी भाउजू नन्दादेवी भट्ट, श्रीमती मंजु बम र भाइ बुहारी धर्मा बोहरा समेत पूर्णकालीन रुपमा भूमिगत रहेका थिए।

शान्ति प्रक्रिया र संसदीय राजनीति
नेपालको शान्ति प्रक्रियापछि भट्ट भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिक तथा संसदीय अभ्यासमा प्रवेश गरे। संविधानसभा तथा त्यसपछिका निर्वाचनमा उनी डडेल्धुराबाट उम्मेदवार बने। विशेषतः डडेल्धुरामा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग प्रतिनिधिसभा निर्वाचनमा भएको प्रतिस्पर्धाले उनलाई राष्ट्रिय राजनीतिक वृत्तमा समेत परिचित गरायो।

खुला राजनीतिमा प्रवेशपछि उनले संगठन निर्माणसँगै संसद्, संविधान निर्माण, लोकतान्त्रिक अभ्यास तथा प्रदेश र स्थानीय विकासका प्रश्नमा राजनीतिक भूमिका निर्वाह गर्दै आएका छन्।

प्रदेश राजनीतिमा भूमिका
संघीय गणतान्त्रिक संरचनाको स्थापना भएपछि भट्टको राजनीतिक सक्रियता सुदूरपश्चिम प्रदेशमा थप केन्द्रित भयो। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज तथा पछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रहे।

प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि नै प्रदेशको संस्थागत विकास, राजनीतिक संगठन र सुदूरपश्चिमका विकासका सवालमा उनी सक्रिय रहे। यस क्रममा उनी प्रदेश राजनीतिका प्रमुख नेतामध्ये स्थापित हुन पुगे।

प्रदेशसभा र संसदीय नेतृत्व
वि.सं. २०७९ को निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित भए। 

प्रदेशसभामा उनले सुदूरपश्चिमको विकास, सुशासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलस्रोत तथा पूर्वाधारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

प्रदेशसभामा निर्वाचित भएपछि उनी नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा पुगेे। पछिल्लो राजनीतिक पुनर्संरचनापछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभामा २२ सदस्यसहित सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। भट्ट उक्त संसदीय दलको नेतृत्वमा छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री
पछिल्लो राजनीतिक सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने तयारीसँगै संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने अवस्थामा पुगेका हुन्।

यो उनको करिब चार दशक लामो राजनीतिक यात्राको महत्वपूर्ण मोड हो। वि.सं. २०४७ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेका एक युवा कार्यकर्ताबाट सुरु भएको यात्रा आज प्रदेश सरकारको कार्यकारी नेतृत्व सम्हाल्ने चरणमा आइपुगेको छ।

कमेन्ट लोड गर्नुस