सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँ फर्किए एमबीबीएस डाक्टर धनेन्द्र शाही, स्थानीयले गरे भव्य स्वागत

२०८३ साउन ३०, ११:२३ खबर संवाददाता

बाजुरा: स्वामीकार्तिक खापर गाउँपालिका–जुकोटका धनेन्द्र शाही एमबीबीएस चिकित्सकको अध्ययन पूरा गरी आफ्नै गाउँ फर्किएपछि स्थानीयवासीले भव्य तथा न्यानो स्वागत गरेका छन्।

शाहीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रको अध्ययन पूरा गरेका हुन्। अध्ययन सम्पन्न गरेपछि उनी आफ्नो गृह क्षेत्र फर्किएका हुन। उनले गाउँ नजिकै रहेको कोल्टी आधारभूत अस्पतालबाट स्वास्थ्य सेवा सुरु गर्ने तयारी गरेका छन्।

लामो समयको अध्ययनपछि आफ्नै गाउँमा चिकित्सकका रूपमा फर्किएका शाहीको आगमनलाई स्थानीयवासीले गर्व र खुसीको क्षणका रूपमा लिएका छन्। गाउँलेहरूले उनलाई फूलमाला तथा आत्मीयतापूर्वक स्वागत गर्दै आफ्नो समुदायको स्वास्थ्य सेवामा उनको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

स्थानीयका लागि शाहीको पुनरागमन केवल एक जना डाक्टर गाउँ फर्किएको घटना मात्र होइन, ज्ञान, आशा र सेवाको भावना बोकेर आफ्नै मान्छे घर फर्किएको विशेष क्षण बनेको छ।

दुर्गम बाजुरामा स्वास्थ्यकर्मीको अभाव र विशेषज्ञ स्वास्थ्य सेवाको सीमित पहुँचका बीच आफ्नै क्षेत्रमा अध्ययन गरेर चिकित्सक बनेका शाहीको उपस्थितिले स्थानीय समुदायमा थप उत्साह र आशा जगाएको छ।

कमेन्ट लोड गर्नुस