धनगढीमा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
“समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत कैलाली मोडल सेकेन्डरी स्कुल, धनगढीको समन्वयमा धनगढी उपमहानगरपालिका–४ स्थित विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थी गरी ११० जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक गगनबहादुर धामीले लागूऔषध सेवन, बिक्री–वितरण तथा ओसारपसारबाट हुने सामाजिक तथा व्यक्तिगत असरबारे जानकारी गराएका थिए। उनले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका उपाय, यसबाट बच्ने उपाय र समुदायको भूमिकालगायत विविध विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए।
विद्यालय तहका विद्यार्थीलाई लागूऔषधको जोखिमबारे सचेत गराउँदै यसको सेवन तथा ओसारपसार नियन्त्रणमा प्रहरी, विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लागूऔषध नियन्त्रणलगायत सामाजिक विकृति न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।