सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रविधिजन्य लैंगिक हिंसासम्बन्धी तालिम सम्पन्न

२०८३ भदौ ६, १२:५९ खबर संवाददाता

धनगढी:कानून कार्यान्वयन गर्ने निकायका पदाधिकारीहरूका लागि सञ्चालन गरिएको पाँचदिने ‘प्रविधिजन्य लैंगिक हिंसासम्बन्धी तालिम’ सम्पन्न भएको छ।

मुख्य न्यायाधिवक्ताको कार्यालय, सुदूरपश्चिम प्रदेश र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजनामा तथा युएनएफपिए र पिसविन नेपालको सहयोगमा भदौ १ गतेदेखि ५ गतेसम्म तालिम सञ्चालन गरिएको थियो।

तालिमको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईको अध्यक्षता तथा महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता लोकराज पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिममा पूर्व जिल्ला न्यायाधीश तथा साइबर विज्ञ डा. कृष्ण भट्टराई र नेपाल प्रहरी साइबर ब्युरोका प्राविधिक प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले प्रशिक्षण दिएका थिए। उनीहरूले प्रविधिजन्य लैंगिक हिंसाको अवधारणा र स्वरूप, प्रविधिको दुरुपयोगबाट हुने विभिन्न प्रकारका साइबर अपराध, घटनाको अनुसन्धान तथा डिजिटल प्रमाणको संकलन र संरक्षणलगायतका विषयमा प्रशिक्षण दिएका थिए।

तालिममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट सरकारी वकिल तथा जिल्ला प्रहरी कार्यालयमा कार्यरत अनुसन्धान अधिकृतहरूको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भट्टराईले प्रविधिको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग गरी हुने साइबर अपराध तथा प्रविधिजन्य हिंसाका घटना पनि बढ्दै गएको बताए। यस्ता घटनाको प्रभावकारी अनुसन्धान तथा कानूनी

प्रक्रियालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायका पदाधिकारीबीच ज्ञान, सीप र अनुभवको आदानप्रदान आवश्यक रहेको उनले बताए।

तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई कार्यक्षेत्रमा व्यवहारिक रूपमा प्रयोग गरी प्रविधिजन्य लैंगिक हिंसालगायत साइबर अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउन तथा पीडितलाई न्याय प्रदान गर्ने कार्यमा सहजता पुग्ने विश्वास व्यक्त गर्दै उनले तालिम समापन भएको घोषणा गरेका थिए।

कमेन्ट लोड गर्नुस