सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतै अपराधमा भारतको सिको त गर्दै छैन् नेपाली समाज ?

२०८३ भदौ ६, ०२:५० विन्दु चन्द

धनगढी– जब छिमेकी देश भारतमा कुनै ठूलो आपराधिक घटना हुन्छ, त्यसको चर्चा नेपालमा पनि चर्किन्छ। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म घटना छिट्टै पुग्छ। तर पछिल्लो समय मनमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ, भारतमा चर्चामा आएका केही जघन्य अपराधसँग मिल्दोजुल्दो प्रकृतिका घटना नेपालमा पनि किन दोहोरिरहेका छन् ?

यो प्रश्न कुनै एक घटनाका आधारमा उठेको त विल्कुलै होइन् तर पछिल्ला केही महिनामा बालबालिकामाथि भएका जघन्य अपराधले नेपाली समाजलाई नै झस्काएको छ।

भारतमा केही समयअघि १८ महिने शिशुमाथि भएको बलात्कार र त्यसपछि भएको मृत्युको घटनाले ठूलो आक्रोश सिर्जना ग¥यो। न्ेपालमा पनि यो घटनाको चर्चा चल्यो । 

कलिलो उमेरकी बालिकामाथि भएको यस्तो जघन्य अपराधले भारतमा मात्रै होइन, हरेक नेपालीको मुटु कांप्यो ।   छिमेकी देश भएकाले भारतमा हुने घटना नेपाली समाजसम्म पुग्न समय लाग्दैन। सामाजिक सञ्जालले त झन् केही मिनेटमै घटना घर–घरमा पु¥याउँछ।

तर त्यो घटना सेलाउन नपाउँदै नेपालमा पनि त्यस्तै प्रकृतिको अर्को जघन्य घटना सार्वजनिक भयो। बारा जिल्लाकी तीन वर्षीया बालिका गरिमा चौधरी बलात्कारपछि मृत अवस्थामा भेटिइन्।

बच्चाको उमेर तीन वर्ष। उसलाई अपराध के हो? भन्ने थाहा थिएन। आफ्नो सुरक्षाका लागि कहाँ जाने भन्ने थाहा थिएन। समाजमाथि विश्वास गरेर बाँचिरहेको एउटा अबोध जीवन अपराधको सिकार बन्यो।

यो घटनाको प्रकृति र त्यसले समाजमा पारेको प्रभावले फेरि त्यही प्रश्न उठाएको छ, हामीले अपराधका घटनाबाट पाठ सिकिरहेका छौँ? कि अपराधप्रति हाम्रो संवेदनशीलता नै कमजोर हुँदै गइरहेको छ ?

यो प्रश्न केवल प्रहरीलाई होइन, राज्यलाई हो, परिवारलाई हो, विद्यालयलाई हो, समाजलाई हो, हामी सबैलाई हो।

घटना समाचार मात्रै होइन, चेतावनी हो

बालबालिकामाथि हुने यौन हिंसा कुनै सामान्य आपराधिक घटना होइन। यो एउटा बालबालिकाको जीवनमाथि भएको गम्भीर अपराध हो। घटनापछि केही दिन सामाजिक सञ्जालमा आक्रोश पोख्ने, दोषीलाई फाँसी दिनुपर्ने माग गर्ने र त्यसपछि अर्को घटनाको प्रतीक्षा गर्ने प्रवृत्तिले समस्या समाधान हुँदैन।

अपराध रोक्न आक्रोशभन्दा बलियो राज्य संयन्त्र चाहिन्छ। प्रहरीमा उजुरी परेपछि अनुसन्धान छिटो हुनुपर्छ। प्रमाण सुरक्षित गर्नुपर्छ। अभियुक्तमाथि कानुनी प्रक्रिया अघि बढ्नुपर्छ। पीडित परिवारले न्याय पाउनुपर्छ। मुद्दा वर्षौँसम्म अल्झिएर पीडित परिवारलाई थप पीडा दिनु हुँदैन।

सबैभन्दा महत्वपूर्ण कुरा, दोषी प्रमाणित भएपछि कानुनअनुसार कडा र प्रभावकारी कारबाही हुनुपर्छ। किनकि एउटा घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु भनेको अर्को सम्भावित अपराधीलाई अप्रत्यक्ष रूपमा हौसला दिनु हो।

सामाजिक सञ्जालको जिम्मेवारी पनि उत्तिकै ठूलो

अहिले अपराधको सूचना क्षणभरमै फैलिन्छ। भारतमा भएको घटना नेपालमा तुरुन्तै पुग्छ। नेपालमा भएको घटना भारतसम्म पुग्छ। तर सूचना फैलाउनु र अपराधको अनुकरण हुनु एउटै कुरा होइन।

त्यसैले अपराधका घटनालाई सामाजिक सञ्जालमा कसरी प्रस्तुत गरिरहेका छौँ ? भन्ने प्रश्न पनि उठ्छ । 

अपराधीलाई ‘हिरो’ बनाउने, अपराधको तरिका अनावश्यक रूपमा प्रस्तुत गर्ने, पीडितको पहिचान सार्वजनिक गर्ने वा घटनालाई मनोरञ्जनजस्तो बनाएर प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई थप असंवेदनशील बनाउन सक्छ।

मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनाको गम्भीरता बुझ्नुपर्छ। पीडितको सम्मान र गोपनीयता पहिलो प्राथमिकता हुनुपर्छ।

यसको राज्यले जवाफ दिनुपर्छ

गरिमा चौधरीजस्ता बालबालिकाको सुरक्षाको जिम्मा कसको हो ? घरको मात्रै होइन। राज्यको हो। समाजको हो। हाम्रो सामूहिक जिम्मेवारी हो।

बालबालिका सुरक्षित छैनन् भने विकासका ठूला भाषणको अर्थ रहँदैन। सडक बनेर मात्र समाज सुरक्षित हुँदैन। भवन बनेर मात्र देश समृद्ध हुँदैन। बालबालिका डरविना बाँच्न सक्ने वातावरण निर्माण हुनु नै सभ्य समाजको पहिलो परीक्षा हो।

त्यसैले गरिमा चौधरीको घटनालाई अर्को समाचार बनाएर बिर्सनु हुँदैन। अनुसन्धान कहाँ पुग्यो ? अभियुक्तमाथि के कारबाही भयो ? पीडित परिवारले न्याय पायो कि पाएन ? यस्ता प्रश्न राज्यसँग निरन्तर सोधिरहनुपर्छ।

अपराधीलाई चेतावनी, समाजलाई पनि
अपराध गर्ने व्यक्तिलाई एउटा स्पष्ट सन्देश जान जरुरी छ । बालबालिकामाथि हुने अपराधमा कुनै सम्झौता हुँदैन। कानुनको पहुँचबाट उम्किन पाइँदैन, र समाजलाई पनि अर्को सन्देश । अपराध देखेर चुप लाग्नु पनि समस्याको हिस्सा बन्नु हो।

बालबालिकामाथि असामान्य व्यवहार देखिएमा परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकायले तत्काल चासो दिनुपर्छ। शंकास्पद गतिविधिलाई सामान्य ठानेर बेवास्ता गर्ने संस्कार अन्त्य गर्नुपर्छ।

आज गरिमाका लागि न्याय माग्दै गर्दा भोलि अर्को बालिका पीडित नहोस् भन्ने सुनिश्चित गर्नु हाम्रो वास्तविक उद्देश्य हुनुपर्छ। किनकि न्याय भनेको एउटा घटनाका दोषीलाई सजाय दिनु मात्रै होइन; अर्को गरिमालाई जोगाउनु पनि हो।

भारतमा होस् वा नेपालमा, अपराधको समाचारले हामीलाई केही दिन आक्रोशित बनाएर मात्र पुग्दैन। त्यसले हाम्रो कानुन, प्रहरी संयन्त्र, न्याय प्रणाली र सामाजिक चेतनालाई सुधारतर्फ धकेल्नुपर्छ।

अब प्रश्न यो होइन, अर्को अपराध कहिले हुन्छ ? प्रश्न यो हो, अर्को अपराध हुनुअघि हामी कति गम्भीर हुन्छौँ ?

गरिमा चौधरीको न्यायका लागि आवाज उठाउनुहोस्। पीडकलाई कानुनअनुसार कडा कारबाहीका लागि राज्यलाई दबाब दिनुहोस्।

र सबैभन्दा महत्वपूर्ण कुरा, बालबालिकाको सुरक्षालाई परिवारदेखि राज्यसम्म सबैको पहिलो जिम्मेवारी बनाउनुहोस्।

किनकि एउटा अबोध बालिकाको जीवन गुमेपछि गरिने पश्चात्तापभन्दा, उसलाई जोगाउन गरिएको एउटा सानो प्रयास धेरै ठूलो हुन्छ।
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस