इलाका प्रहरी कार्यालय टीकापुरको अनुगमन तथा निरीक्षण सम्पन्न
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले इलाका प्रहरी कार्यालय टीकापुरको अनुगमन तथा निरीक्षण गरेका छन्। प्रहरी वरिष्ठ उपरीक्षक विष्टले शनिवार इलाका प्रहरी कार्यालय टीकापुरको अनुगमन तथा निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिष्टले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै शाखागत रूपमा सम्पादन भइरहेका कामकारबाही, अभिलेख व्यवस्थापन तथा समग्र कार्यसम्पादन अवस्थाबारे जानकारी लिएका थिए।
उनले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन, मुद्दा तथा उजुरी व्यवस्थापन र नागरिकका गुनासो सम्बोधनलगायत विषयमा समेत जानकारी लिएका थिए।
निरीक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिष्टले नागरिकलाई प्रदान गरिने प्रहरी सेवालाई थप प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री बनाउन निर्देशन दिए। उनले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाउन र प्रहरी कर्मचारीले उच्च व्यावसायिक अनुशासन कायम गर्दै जिम्मेवारी निर्वाह गर्नसमेत निर्देशन दिए।
त्यस्तै, प्रहरी र आम नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नागरिकको विश्वास अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न उनले आवश्यक निर्देशन दिए।