रास्वपा कैलालीको निर्णयः छाउगोठ नभत्काउने नेता–कार्यकर्ताले चुनाव लड्न नपाउने, जिम्मेवारीबाट पनि हटाइने
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिले छाउपडी विरुद्ध कडा निर्णय लिएको छ।
पार्टीको कुनै जिम्मेवार पदमा रहेका वा आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको घरमा छाउगोठ कायम रहेको पाइएमा एक महिनाभित्र अनिवार्य रूपमा भत्काउनुपर्ने निर्णय गरिएको छ।
चुरे गाउँपालिकामा बसेको रास्वपा कैलाली जिल्ला समितिको बैठकले तोकिएको एक महिनाको समयावधिभित्र छाउगोठ नभत्काउने व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस नगर्ने र पार्टीको कुनै पनि जिम्मेवार पदमा नराख्ने स्पष्ट पारेको छ।
जिल्ला भ्रमणका क्रममा कैलालीका पहाडी पालिकाहरूमा अझै ५० देखि ५५ प्रतिशत घरहरूमा छाउगोठ कायम रहेको र तराईका विभिन्न पालिकाहरूमा समेत यो कुरीति जीवितै रहेको दुःखद् यथार्थ देखिएपछि रास्वपाले यो कदम चालेको हो।
महिनावारीका बेला महिलाहरूलाई असुरक्षित गोठमा बस्न बाध्य पार्दा सर्पको टोकाइ, प्रतिकूल मौसम, विभिन्न किसिमका हिंसा तथा ज्यानै जाने सम्मका जोखिमहरू निम्तिने गरेका छन्। परम्परा र धर्मका नाममा यस्ता अमानवीय कुरीतिलाई निरन्तरता दिनु कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै पार्टीले आफ्नै नेता–कार्यकर्ताबाट सुधारको सुरुवात गर्न यो निर्णय लागू गरेको जनाएको छ।