रसुवा बाढीमा फसेका ३ हजार २५३ जनाको उद्धार
काठमाडौँः रसुवामा बाढीका कारण विभिन्न स्थानमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्धार गरिएका व्यक्तिको संख्या ३ हजार २५३ पुगेको जानकारी दिएका हुन्।
उनका अनुसार उद्धारका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी कुल १५ वटा हेलिकप्टर परिचालन गरिएको छ।
यस्तै, प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइएको मन्त्री पोखरेलले बताएका छन्। सरकारले अहिले उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।