सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

२०८३ भदौ १७, ०४:३४ रासस

काठमाडौँः सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि १३ करोड ५० लाख निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि एक/एक करोड रुपैयाँ र धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते ६ करोड ५० लाख र १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि एक करोड ५० लाख रुपैयाँ, गोसाइँकुण्ड गाउँपालिकाका लागि दुई करोड रुपैयाँ, कालिका गाउँपालिकाका लागि ६० लाख रुपैयाँ र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड रुपैयाँ, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख रुपैयाँ, किस्पाङ गाउँपालिकाका लागि ५० लाख रुपैयाँ र तारकेश्वर गाउँपालिकाका लागि एक करोड रुपैयाँ निकासा गरिएको छ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख रुपैयाँ, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ र बेनिघाट रोराङ गाउँपालिकाका लागि  ४० लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रू सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा रू छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको  छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । 

कमेन्ट लोड गर्नुस