सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेशियामा ज्वालामुखी विस्फोट, डेढ लाख मानिस अलपत्र

२०८३ भदौ २१, ०७:०६ खबर संवाददाता

एजेन्सीः इन्डोनेशियामा ज्वालामुखी विस्फोटका कारण १ लाख ५० हजार जना यात्रु अलपत्र परेका छन् । ज्वालामुखी विस्फोटका कारण इन्डोनेशियाली अधिकारीहरूले ६ वटा विमानस्थल अस्थायीरूपमा बन्द गर्नुपरेको बताएका बीबीसीले जनाएको छ ।

आज बिहान ‘अनाक क्राकाताउ’ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो । यातायात मन्त्री डुडी पुर्वागान्धीले अहिलेसम्म ४६७ उडान प्रभावित भएको जानकारी दिनुभएको छ ।

उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीडभाड कम गर्न आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ ।

यातायात मन्त्रालयका अनुसार मुख्यतया सिङ्गापुर आउने–जाने उडानहरूका साथै दोहा, सिड्नी र क्वालालम्पुरलगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ ।

शुक्रवार अबेर राति ज्वालामुखी फुट्न शुरू भएको थियो जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लाभाको फोहरा र ठूलो गर्जन सुनिएको थियो । अधिकारीहरूका अनुसार आज बिहान थप दुई पटक ज्वालामुखी विस्फोट भएको हो ।

इन्डोनेशियाको मौसम विज्ञान निकायका अनुसार ज्वालामुखीको पूर्वी भागमा पर्ने जाभामा खरानी ६ हजार मिटर र पश्चिमी भागमा पर्ने सुमात्रातर्फ १५ हजार मिटरको उचाइसम्म पुगेको थियो ।

वैज्ञानिकहरूका अनुसार ज्वालामुखी विस्फोट हुँदा खसेका चट्टानका केही टुक्राहरू झन्डै ७० देखि ९० मिटर लामा थिए ।

‘प्यासिफिक रिङ अफ फायर’ भन्नाले प्रशान्त महासागरको वरिपरि फैलिएका ज्वालामुखी, भूकम्प जाने क्षेत्र र टेक्टोनिक प्लेटहरूको शृङ्खलालाई बुझाउँछ । यो दक्षिण अमेरिकाको दक्षिणी छेउदेखि न्युजिल्यान्डसम्म ४० हजार किलोमिटरको दूरीमा फैलिएको छ ।

विश्वका झन्डै ९० प्रतिशत भूकम्प यसै क्षेत्रमा जान्छन् र पृथ्वीका ७५ प्रतिशत अर्थात् ४५२ वटा सक्रिय ज्वालामुखी यसै घेरामा रहेका छन् ।

कमेन्ट लोड गर्नुस