सुदूर नेपाललाई विश्वसँग जोड्दै

उज्यालो वडाका लागि बोहराको पहल, दसैंभित्र बिजुली पुर्‍याउने प्रदेश सरकारको प्रतिबद्धता

२०८३ भदौ २२, ०२:५२ खबर संवाददाता

डोटी: आदर्श गाउँपालिका–६ मा लामो समयदेखि विद्युत् विस्तार हुन नसक्दा स्थानीयवासी अन्धकारमै बस्न बाध्य भएका छन्। स्थानीय तह स्थापना भएको करिब एक दशक बितिसक्दा पनि वडामा विद्युत् सेवा पुग्न नसकेपछि समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।

वर्षौंदेखि स्थानीय, प्रदेश तथा संघीय सरकार र विभिन्न राजनीतिक दलका जनप्रतिनिधिले निर्वाचनका बेला वडा नम्बर ६ मा विद्युत् विस्तार, सडक तथा मोटरेबल पुल निर्माणलगायतका पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। स्थानीयवासीले पटक–पटक फरक–फरक दलका उम्मेदवार तथा जनप्रतिनिधिलाई निर्वाचित गरेर पठाए पनि विद्युत् विस्तार र आवश्यक पूर्वाधार निर्माणले अपेक्षाअनुसार गति लिन सकेको छैन।

सरकार र जनप्रतिनिधि परिवर्तन भइरहे पनि वडाको विद्युत्, सडक, सिँचाइ तथा खानेपानीको समस्या भने जस्ताको तस्तै रहेको स्थानीयवासीको गुनासो छ। विद्युत् विस्तारका लागि पटक–पटक ठेक्का सम्झौता भए पनि विभिन्न कारणले काम प्रभावित हुँदा अहिलेसम्म वडामा बिजुली पुग्न सकेको छैन।

आदर्श गाउँपालिकाका तत्कालीन अध्यक्ष टेकबहादुर रोकायले आफ्नो कार्यकालभित्र सबै वडामा विद्युत् विस्तार गरी गाउँपालिकालाई ‘उज्यालो पालिका’ घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका थिए। उनले कार्यकालको अन्तिम वर्षसम्म उक्त प्रतिबद्धता पूरा गर्ने दाबी गरे पनि वडा नम्बर ६ मा भने विद्युत् विस्तार हुन सकेन।

त्यसैगरी, वर्तमान गाउँपालिका अध्यक्ष गणेश खड्काले निर्वाचनका क्रममा आफू निर्वाचित भएको एक वर्षभित्र वडा नम्बर ६ मा विद्युत् पुर्‍याउने प्रतिबद्धता जनाएका थिए। तर पाँचवर्षे कार्यकालसमेत अन्तिम चरणमा पुग्न लाग्दा विद्युत् विस्तारको स्पष्ट प्रगति नदेखिएपछि स्थानीयवासी निराश बनेका छन्।

निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध विवरणअनुसार करिब २ हजार २ सय १० मतदाता रहेको वडा नम्बर ६ मा विद्युत् विस्तार हरेक निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूको प्रमुख चुनावी एजेन्डा बन्दै आएको छ। तर स्थानीय सरकार गठन भएको करिब १० वर्ष बितिसक्दा पनि विद्युत् सेवा नपुग्दा स्थानीयवासी अन्धकारमै बस्न बाध्य छन्।

यसैबीच, वडा नम्बर ६ को विद्युत् समस्या समाधानका लागि नेकपाका युवा नेता तपेन्द्र बोहराले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। जनताको समस्या समयमै सम्बोधन गराउने उद्देश्यले बोहराले प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री ओमविक्रम भाट र राज्यमन्त्री जानकी कुँवर पौडेलसँग भेट गरी छुट्टाछुट्टै छलफल गरेका हुन्।

भेटका क्रममा मन्त्री भाट, राज्यमन्त्री कुँवर पौडेल र नेता बोहराबीच वडा नम्बर ६ मा विद्युत् विस्तारको विषयमा गम्भीर छलफल भएको बताइएको छ। छलफलपछि प्रदेश सरकार विद्युत् विस्तारका लागि सकारात्मक देखिएको बोहराले जानकारी दिएका छन्।

बोहराका अनुसार मन्त्री भाट र राज्यमन्त्री पौडेलले विद्युत् कार्यालय दिपायलसँग समन्वय गरी दसैंभित्र वडा नम्बर ६ मा विद्युत् सेवा विस्तार गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

विद्युत् कार्यालय दिपायलका प्रमुखले भने हाल वर्षाका कारण सडक आवतजावतमा समस्या हुँदा आवश्यक सामग्री ढुवानी गर्न नसकिएको बताएका छन्। बाटो खुल्नेबित्तिकै काम अघि बढाउने र सम्भव भए दसैंसम्म, नभए तिहारसम्म वडा नम्बर ६ मा विद्युत् पुर्‍याउने प्रतिबद्धता मन्त्री भाटसमक्ष व्यक्त गरिएको बोहराले बताएका छन्।

यस्तै, विद्युत् विस्तारका लागि आवश्यक सहयोग प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता मन्त्री भाटले व्यक्त गरेको पनि बोहराले जानकारी दिएका छन्।

विगतमा पटक–पटक गरिएका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको स्मरण गर्दै स्थानीयवासीले भने यसपटक प्रदेश सरकारको पहलबाट वडा नम्बर ६ साँच्चिकै उज्यालो हुने अपेक्षा गरेका छन्।
 

कमेन्ट लोड गर्नुस