सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न

२०८३ भदौ २४, ०९:५४ खबर संवाददाता

धनगढी: विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवीय सेवाको भावनासहित आयोजित कार्यक्रममा १६ महिला र ३४ पुरुष गरी कुल ५० जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा ८ जनाले जीवनमै पहिलोपटक रक्तदान गरेका थिए। रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा पाँच दम्पतीले संयुक्त रूपमा रक्तदान गरेका छन्। रक्तदान गर्ने दम्पतीहरूमा हेमराज भट्ट–पुष्पा जोशी भट्ट, नवराज जोशी–भुवन जोशी, कर्णबहादुर ओली–सुमन पाल ओली, प्रकाश चन्द–चाँदनी शाही चन्द तथा गणेशबहादुर ढाँट–रविना रोकाया ढाँट रहेका छन्।

रक्तदान कार्यक्रमको संयोजन पुष्पा जोशी भट्टले गर्नुभएको थियो। कार्यक्रममा विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश चन्द तथा राष्ट्रिय सचिव महेन्द्र राज पन्तको विशेष उपस्थिति एवं सक्रिय सहभागिता रहेको थियो।

मानवीय सेवाका लागि रक्तदानको महत्त्वलाई उजागर गर्दै परिषद्ले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट लोड गर्नुस