सेती अस्पतालको पार्किङ अस्तव्यस्त, गाडी राख्नदेखि निकाल्नसम्म सास्ती
धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पार्किङ व्यवस्थापन व्यवस्थित हुन नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। अस्पताल परिसरमा पर्याप्त पार्किङस्थल नहुँदा बिरामी तथा आफन्तले सवारीसाधन राख्नदेखि उपचारपछि निकाल्नसम्म समस्या झेल्दै आएको गुनासो गरेका छन् ।
सुदूरपश्चिमकै प्रमुख सरकारी रेफरल अस्पतालका रूपमा रहेको सेतीमा दैनिक ठूलो संख्यामा बिरामी तथा सेवाग्राही आउने गरेका छन्। तर, अस्पताल परिसरमा पर्याप्त र व्यवस्थित पार्किङस्थल नहुँदा अस्पतालभित्रका खाली स्थान, पैदल हिँड्ने बाटो तथा सडक छेउसम्म सवारीसाधन पार्किङ गर्ने गरिएको छ।
सेवाग्राहीका अनुसार अस्तव्यस्त रूपमा पार्किङ गरिएका सवारीसाधनका कारण आफूले पार्किङ गरेको गाडी उपचारपछि निकाल्नसमेत मुस्किल हुने गरेको छ। कतिपय अवस्थामा गाडी निकाल्न मात्रै १० देखि १५ मिनेटसम्म लाग्ने गरेको उनीहरूको गुनासो छ। पार्किङ गर्ने ठाउँ नै नपाउने समस्या पनि नियमितजस्तै बनेको सेवाग्राही बताउँछन्।
पार्किङको अव्यवस्थाले अस्पताल परिसरमा भीडभाड बढाउनुका साथै आवतजावतमा समेत समस्या हुने गरेको छ। सवारीसाधन जथाभावी पार्किङ हुँदा पैदल यात्रु तथा बिरामीलाई हिँडडुल गर्नसमेत असहज हुने गरेको सेवाग्राहीको भनाइ छ। अस्पताल परिसरभित्र सवारीसाधनको भीडका कारण दुर्घटनाको जोखिमसमेत बढेको उनीहरू बताउँछन्।
अस्पतालमा उपचारका लागि आउने बिरामीले लामो समयसम्म लाइनमा बस्नुपर्ने समस्या भोगिरहेका बेला पार्किङको झन्झटले थप समय खेर जाने गरेको सेवाग्राहीको गुनासो छ। उनीहरूले पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि अस्पताल प्रशासनसँगै स्थानीय र प्रदेश सरकारले समेत तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।
अस्पताल प्रशासनका अनुसार करिब चार बिघा क्षेत्रफलमा अस्पताल परिसर फैलिएको भए पनि उपलब्ध जमिनलाई व्यवस्थित रूपमा प्रयोग गर्न सकिएको छैन। पुराना भवन जीर्ण बन्दै जानु, केही नयाँ भवन निर्माण तथा सञ्चालनको प्रक्रियामा रहनु र सञ्चालनमा रहेका भवनबीचको क्षेत्र व्यवस्थित नहुँदा पार्किङका लागि पर्याप्त ठाउँ छुट्याउन समस्या भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार अस्पताल वि.सं. १९९७ सालमा १५ शय्याबाट स्थापना भएको हो। वि.सं. २०४० सालमा यसको नाम सेती अस्पताल राखिएको उनले बताए। हाल अस्पताल ३२० शय्यामा सञ्चालनमा रहेको श्रेष्ठले जानकारी दिए।
समयसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढ्दै गए पनि भौतिक संरचना र उपलब्ध स्थान सोहीअनुसार विस्तार हुन नसक्दा विभिन्न समस्या देखिएको उनको भनाइ छ।
“अस्पतालमा बिरामीको चाप निरन्तर बढिरहेको छ। केही पुराना भवन जीर्ण भएका छन् भने केही भवन निर्माण तथा सञ्चालनको प्रक्रियामै छन्,” श्रेष्ठले भने, “भवनहरू व्यवस्थित रूपमा व्यवस्थापन हुन नसक्दा उपलब्ध ठाउँ पनि पर्याप्त हुन सकेको छैन। त्यसको असर पार्किङ व्यवस्थापनमा समेत परेको छ।”
अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीको संख्या बढ्दै गएकाले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राख्दै छुट्टै व्यवस्थित पार्किङस्थल निर्माण तथा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। पार्किङको उचित व्यवस्थापन नहुँदा अस्पताल परिसरको भीडभाड मात्र नभई पैदल आवतजावत गर्ने बाटो र सडकसमेत प्रभावित हुँदै आएको छ।
सुदूरपश्चिमकै प्रमुख सरकारी स्वास्थ्य संस्थामध्ये एक रहेको सेती प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै भौतिक पूर्वाधार र पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। सेवाग्राहीले अस्पताल परिसरलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले दीर्घकालीन योजना बनाएर तत्काल काम अघि बढाउन माग गरेका छन्।