सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने अनुमान

२०८३ भदौ २५, ०५:३८ खबर संवाददाता

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार सबैभन्दा बढी बजेट पूर्वाधार पुनर्निर्माणमा लाग्नेछ। पूर्वाधार क्षेत्रका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

बाढीबाट ऊर्जा र सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना तथा २४ मेगावाटका पाँच सोलार प्लान्ट प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, ६९ किलोमिटर सडक, ३३ मोटरेबल पुल र ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ। यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। साथै सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ।

प्रतिवेदनअनुसार आगामी ६ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनर्निर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ आवश्यक पर्नेछ।
 

कमेन्ट लोड गर्नुस