सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्ती नियन्त्रणमा सहयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे आग्रह

२०८३ भदौ ३०, ०९:१४ खबर संवाददाता

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हात्ती नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै निकुञ्ज कार्यालयले हात्ती निस्किएका क्षेत्रबारे समयमै जानकारी गराइ सहयोग गर्न आग्रह गरेको हो । 

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा जङ्गली हात्तीको बथानले स्थानीयका बालीनाली नष्ट गर्नुका साथै, घर समेत भत्काउँदै आएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्कने हात्तीको बथान नियन्त्रणका लागि निकुञ्जको कार्यालयले समयमा नै जानकारी गराइ सहयोग गर्न आग्रह गरेको हो । 

वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँवस्ती तथा खेतिबालीमा समय समयमा निस्कने जङ्गली हात्ती नियन्त्रणका कार्य भइरहेको बताए। कुनै क्षेत्रमा हात्ती बाहिर निस्किएको खण्डमा नजिकको सेक्टर, रेन्जर पोस्ट तथा पोस्टमा सम्पर्क गरी हात्ती नियन्त्रणका काममा सहयोग गर्न आग्रह गरिएको उनले बताए।  

निकुञ्ज कार्यालयले हात्ती आएको खण्डमा मझगाउँ हेडक्वार्टर, अर्जुनी सेक्टर, हिरापुर रेन्जपोष्ट, बेलडाँडी रेन्जपोष्ट, ढक्का रेन्जपोष्ट, पिपरिया रेन्जपोष्ट, दोधारा पोस्ट, पलिया पोस्ट, मालुमेला पोस्ट, बडनिखेडा पोस्ट, तारापुर पोस्ट र हात्तीथला पोस्टमा समयमै खबर गर्न आग्रह गरेको छ । 

कमेन्ट लोड गर्नुस