सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय युवा उद्यमी मञ्च कैलालीको करअनुपालनसम्बन्धी लर्निङ इभेन्ट सम्पन्न  

२०८३ असोज ११, ०२:०८ खबर संवाददाता

धनगढी: धनगढीस्थित सुभश्री प्यालेसमा राष्ट्रिय युवा उद्यमी मञ्च (NYEF) कैलालीको आयोजनामा कर तथा अनुपालनसम्बन्धी जानकारीमूलक लर्निङ इभेन्ट सम्पन्न भएको छ।

कार्यक्रममा आन्तरिक राजस्व विभाग, धनगढीका प्रमुख कर अधिकृत भीमप्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा व्यवसाय सञ्चालन, कर प्रणाली तथा करदाताले पालना गर्नुपर्ने विभिन्न व्यवस्थाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका अतिथि वक्ता आन्तरिक राजस्व कार्यालय, धनगढीका अधिकारी तर्कराज जैसीले व्यवसाय दर्ता प्रक्रिया, मूल्य अभिवृद्धि कर (VAT) तथा कर विवरण (फाइलिङ) प्रक्रियाका विषयमा सहभागीहरूलाई जानकारी गराए। उनले कर छुट तथा सहुलियतका नयाँ व्यवस्था, करदाता प्रोत्साहन उपहार कार्यक्रम तथा डिजिटल कर प्रणालीका विषयमा समेत चर्चा गरेका थिए।

त्यस्तै,कार्यक्रममा वित्तीय साक्षरता तथा व्यवसाय व्यवस्थापन सम्बन्धी ‘बिक्री देखावटी हो, नाफा भ्रम हो, नगद यथार्थ हो’ विषयक कार्यपत्र प्रस्तुत गर्दै चार्टर्ड एकाउन्टेन्ट टेक राज पनेरुले कागजी नाफा देखिए पनि नगद सञ्चिति र सही तरलता व्यवस्थापन नहुँदा ठूला कम्पनीहरू समेत दामासाहीमा पर्ने जोखिम रहने बताए। 

बिक्री र नाफाले मात्र व्यवसायको वास्तविक अवस्था नदेखाउने उल्लेख गर्दै उनले उधारो असुली, मौज्दात (स्टक) व्यवस्थापन, र बलियो आन्तरिक लेखापरीक्षण प्रणाली (इन्टर्नल अडिट) बिना व्यवसायलाई दिगो बनाउन नसकिनेमा जोड दिए।

उनले करसम्बन्धी पछिल्ला अद्यावधिक व्यवस्था, कर अनुपालन तथा कर योजना का विषयमा प्रस्तुति दिए।

कार्यक्रममा NYEF कैलालीका सदस्यहरूका साथै एसपीए कलेजमा ACCA अध्ययनरत विद्यार्थी तथा धनगढीका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थी तथा युवा व्यवसायीहरूलाई कर प्रणाली, व्यवसाय दर्ता, VAT, फाइलिङ, कर अनुपालन तथा डिजिटल कर सेवासम्बन्धी व्यावहारिक जानकारी प्राप्त गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस