सुदूरपश्चिममा पनि कमजोर बन्दै न्यून चापीय प्रणाली, घट्याे भारी वर्षाकाे सम्भावना
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ ।
अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ ।
यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो जोखिम भने टर्दै गएको छ ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकमार साहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएकाले धेरै जोखिम नरहे पनि सतर्क रहनुपर्ने अवस्था भने कायमै रहेको बताए।
आज दिउँसो तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा मात्र हुने पूर्वानुमान रहेको उनले जानकारी दिए।
आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ ।
आज रातिदेखि यहाँका हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी बुधबार भने यहाँका सबैजसो स्थानमा मौसम आंशिक बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने राति तराई क्षेत्रमा मुख्यतया सफा रहने पूर्वानुमान छ ।