कञ्चनपुरमा ४ लाख बराबरका भन्सार छलीका सामानसहित एक जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका–७, हजराबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ३ लाख ५ हजार ६ सय रुपैयाँ बराबरका सामानसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी ल्याएर घरमा लुकाइछिपाई राखिएको अवस्थामा स्थानीय ४० वर्षीय हरिश साउँदलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो।
साउँदको घरबाट नरिवल पाउडर, मिल्क केक, विभिन्न प्रकारका मिठाई, सोनपापडी, नमकिन, प्लास्टिकका झोला, रबरका कट्टा, रसभरी मिठाई तथा पूजा सामग्रीलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब ९० हजार रुपैयाँ बराबरका पेय पदार्थ, हार्डवेयरलगायतका सामानसमेत प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।