२१ वर्षीया रोशनी शाह कैलाली-४ बाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
धनगढी: कैलाली क्षेत्र नम्बर ४ बाट २१ वर्षीया रोशनी शाह नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
उनले ३४७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी भगवती जाेशीलाई ९७ मतले पछि पारिन्। जाेशीले २५० मत प्राप्त गरेकी थिइन्।
शाह ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढीमा बीबीएस चौथो वर्षमा अध्ययनरत छिन्। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट क्याम्पसको वर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन्।
२१ वर्षकै उमेरमा पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनको राजनीतिक प्रतिनिधित्व युवा, विद्यार्थी तथा महिला सहभागितासँग जोडिएको छ। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित शाहले अब नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुँदै पार्टीको नीति तथा नेतृत्व चयन प्रक्रियामा प्रतिनिधित्व गर्नेछिन्।