सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २४ असाेजदेखि शनिबारीय महिला उद्यम बजार सञ्चालन हुने

२०८३ असोज १६, ०५:२० लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिकाले शनिबारीय महिला उद्यम बजारलाई पुनः सञ्चालनमा ल्याउने भएको छ। वर्षायामका कारण केही समय रोकिएको उद्यम बजार यही असोज २४ गतेदेखि पुनः सञ्चालन गर्न लागिएको हो। 

धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षदेखि जेन्जीमार्गमा उद्यम बजार सञ्चालन गर्दै आएको छ। वर्षायामलाई मध्यनजर गर्दै केही समय स्थगित गरिएको बजारलाई पुनः निरन्तरता दिन लागिएको उपमहानगरपालिकाले जनाएको छ।

पुनः सञ्चालन हुने उद्यम बजारका लागि आवेदन खुला गरिएको उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले बताइन्। उनका अनुसार बजारमा बेरोजगार तथा सीप भएका महिलालाई प्राथमिकता दिइनेछ । महिलाले आफूले उत्पादन गरेका हस्तकला सामग्री तथा मौलिक खानाका परिकार बिक्री गरेर आम्दानी गर्न सक्नेछन् ।

२०८१ सालदेखि सुरु गरिएको महिला उद्यम बजारले महिलालाई स्वरोजगार बनाउनुका साथै स्थानीय सीप, कला, संस्कृति र मौलिक खानपानको संरक्षण तथा प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने उपमहानगरपालिकाको विश्वास छ।

‘शनिबार एक दिन भए पनि दिदीबहिनीहरूको श्रमको सम्मान, आर्थिक सशक्तीकरणको अभियान’ भन्ने नारासहित सञ्चालन हुँदै आएको उद्यम बजारलाई महिलाको आर्थिक सशक्तीकरणसँग जोडिएको छ । महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै परिवारको आयआर्जनमा योगदान पुर्‍याउने र घरेलु हिंसा न्यूनीकरणमा समेत सहयोग गर्ने उद्देश्य रहेको उप-नगरप्रमुख रानाले बताइन्।

उद्यम बजारमा दुईतर्फ विभिन्न प्रकारका स्टल राखिनेछन्। एकतर्फ महिलाले उत्पादन गरेका हस्तकलाका सामग्रीहरू बिक्रीका लागि राखिनेछन् । दुना–टपरी, ढकिया, आरनका सामग्री, चुरा, पोतेलगायत स्थानीय सीप र कलामा आधारित सामग्रीका स्टल रहनेछन्।

त्यस्तै, अर्को तर्फ सुदूरपश्चिमका मौलिक तथा परम्परागत खानाका परिकारका स्टल रहनेछन्। निसौसे, माणा, सेलरोटी, ढिक्री, कर्ता, बटुकलगायत स्थानीय तथा अर्गानिक परिकारको स्वाद लिन सकिने उप-नगरप्रमुख रानाले बताइन्।

उद्यम बजारलाई महिला उद्यमीको उत्पादन बिक्री गर्ने स्थानमा मात्र सीमित नराखी सबै उमेर समूहका लागि मनोरञ्जन र घुमघामको गन्तव्यका रूपमा विकास गर्ने तयारी गरिएको छ । बालबालिकाका लागि खेल्ने सामग्री तथा ज्येष्ठ नागरिकका लागि भजन–कीर्तन र मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन गरिनेछ।

धनगढीका महिलाले आफूमा भएको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै स्वरोजगार बन्न सक्ने भएकाले उद्यम बजारमा सहभागी हुन इच्छुक महिलालाई आवेदन दिन उपमहानगरपालिकाले आग्रह गरेको छ।

शनिबारीय महिला उद्यम बजार महिलाले उत्पादन गर्ने सामग्रीको बिक्रीस्थल मात्र नभई स्थानीय सीप, संस्कृति र मौलिक खानपानलाई बजारसँग जोड्ने तथा महिलाको श्रमलाई आम्दानीमा रूपान्तरण गर्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य उपमहानगरपालिकाले लिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस