सुदूर नेपाललाई विश्वसँग जोड्दै

१५ सुत्केरी आमालाई पोषिलो घरको निःशुल्क ‘सुत्केरी मसाला’

२०८३ असोज १६, ०५:३३ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढीमा रहेको पोषिलो घरले कैलालीको कैलारी गाउँपालिकास्थित कैलारी आधारभूत अस्पतालमा सुत्केरी भएका १५ जना आमालाई निःशुल्क ‘सुत्केरी मसाला’ वितरण गरेको छ।

पोषिलो घरकी सञ्चालक कविता पन्तले शुक्रबार अस्पतालमै पुगेर नवजात शिशु जन्माएका आमाहरूलाई सुत्केरी मसाला वितरण गरेकी हुन्। 

सुत्केरी भएपछि आमाले पोषणयुक्त आहारसँगै शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वयुक्त खाद्य सामग्री सेवन गर्नुपर्छ भन्ने सन्देश दिन मसाला वितरण गरिएको पन्तले बताइन्।

उनका अनुसार सुत्केरी अवस्थामा पोषणयुक्त खाना सेवन गर्दा आमाको स्वास्थ्यमा सुधार आउनुका साथै नवजात शिशुको स्याहार तथा विकासमा समेत सहयोग पुग्छ। अस्पतालसँगको सहकार्यमा सुत्केरी महिलालाई पोषणयुक्त आहारको महत्वबारे जानकारी गराउँदै मसाला वितरण गरिएको उनले बताइन्।

सुदूरपश्चिमका विभिन्न जिल्लामा सुत्केरी अवस्थामा प्रयोग गरिने पोषणयुक्त मसालाबारे पर्याप्त जानकारी नभएको भन्दै पन्तले यसको प्रयोग र महत्वबारे जनचेतना फैलाउने उद्देश्यले अभियानका रूपमा निःशुल्क वितरण गरिएको बताइन्। 

“सुत्केरी आमाले आफ्नो स्वास्थ्य र बच्चाको राम्रो स्याहारका लागि पोषणयुक्त आहारमा ध्यान दिन आवश्यक छ,” पन्तले भनिन्, “सुत्केरी मसालाको प्रयोग र यसको महत्वबारे जानकारी गराउने उद्देश्यले अस्पतालसँग सहकार्य गरेर वितरण गरेका हौँ।”

पोषणयुक्त आहारको महत्वबारे आमाहरूलाई जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पोषिलो घरले जनाएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस