गाजामा हमासका वरिष्ठ अधिकारीलाई लक्षित गरी इजरायली सेनाको हवाई हमला
इजरायल : इजरायली सेनाले गाजाको सहरमा हमासका वरिष्ठ अधिकारी अली अहमद अल–अमौदीलाई लक्षित गरी राति हवाई हमला गरेको पुष्टि गरेको छ ।
इजरायली सेनाले शनिबार सञ्चारमाध्यममा आएका विवरणको पुष्टि गर्दै अल–अमौदीलाई लक्षित गरेर हमला गरिएको जनाएको हो । यद्यपि, उक्त हमलामा अल–अमौदी घाइते भए वा मारिए भन्नेबारे तत्काल कुनै पुष्टि गरिएको छैन । सेनाका अनुसार घटनाको परिणामबारे अनुसन्धान भइरहेको छ ।
इजरायली सेनाले अल–अमौदी रहेको अपार्टमेन्ट हमासले कथित रूपमा आतंकवादी गतिविधिका लागि प्रयोग गर्दै आएको दाबी गरेको छ ।
सेनाका अनुसार अल–अमौदी हमासको राजनीतिक ब्युरोका उपाध्यक्ष तथा गाजा क्षेत्रमा रहेका हमासका सबैभन्दा वरिष्ठ अधिकारीमध्ये एक हुन् । उनले पूर्व हमास नेता याह्या सिनवारका व्यक्तिगत सहायकका रूपमा समेत काम गरेको इजरायली सेनाको दाबी छ। सिनवारलाई दुई वर्षअघि इजरायली सेनाले मारेको थियो ।
इजरायली सेनाले अल–अमौदी सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमासको आक्रमणसँग सम्बन्धित निर्णय प्रक्रियामा समेत संलग्न रहेको दाबी गरेको छ ।
तर, हवाई हमलाको वास्तविक परिणामबारे इजरायली सेनाले अझै अन्तिम जानकारी सार्वजनिक गरेको छैन।